पक्की पुल बनेपछि बागलुङका सय बढी झोलुङ्गे पुल प्रयोगविहीन, कतै खिया लाग्दै त कतै बन्दै ‘शोभाका वस्तु’

बागलुङ, १४ वैशाख । कुनै समय बागलुङका भिर-पाखा र खोला खोल्सा वारपार गर्ने मुख्य आधार मानिने झोलुङ्गे पुलहरू अहिले सडक सञ्जालको विस्तारसँगै ‘शोभाका वस्तु’ मात्र बन्न थालेका छन् । जिल्लामा मोटर चल्ने पक्की पुल निर्माणमा तीव्रता आएसँगै एक सयभन्दा बढी झोलुङ्गे पुलहरू प्रयोगविहीन बनेका हुन् ।

यसको एउटा ताजा उदाहरण हो— काठेखोला गाउँपालिका–२ भीमापोखरा र वडा नं ४ तङ्ग्राम जोड्ने डुडियाखोलाको झोलुङ्गे पुल । सात वर्षअघि मात्र काठेपुल विस्थापित गरेर बनाइएको यो स्टिलको पुल अहिले सुनसान छ । कारण हो— गण्डकी प्रदेश सरकारले ३ करोड ६२ लाख २२ हजार रुपैयाँ खर्चेर त्यहीँ छेउमै मोटर चल्ने पक्की पुल निर्माण गर्नु । पक्की पुल बनेपछि पैदल यात्रुले पनि झोलुङ्गे पुल छाडेर सहज बाटो रोजेका छन् ।

यस्तै अवस्था काठेखोला–६ बिँहु र भीमापोखरा जोड्ने लामाबगरमा पनि छ । तीन वर्षअघि ३ करोड ३१ लाखको लागतमा पक्की पुल बनेपछि पुरानो झोलुङ्गे पुल अहिले प्रयोगमा छैन ।

काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाका अनुसार पक्की पुल नबन्दासम्म यात्रीले झोलुङ्गे पुल र सवारीसाधनले खोलाबाटै जोखिमपूर्ण यात्रा गर्थे । “अहिले पक्की पुल बनेपछि झोलुङ्गे पुलको औचित्य सकियो,” उहाँले भन्नुभयो, “गाउँपालिकाले यी पुलहरूलाई आवश्यक परेका अन्य दुर्गम स्थानमा स्थानान्तरण गर्ने योजना बनाएको छ ।”

सबैभन्दा बढी झोलुङ्गे पुलहरू मध्यपहाडी पुष्पलाल लोकमार्ग खण्डमा विस्थापित भएका छन् । सडक विस्तार र पक्की पुलको निर्माणसँगै त्यहाँका दर्जन बढी झोलुङ्गे पुलहरू अहिले जीर्ण अवस्थामा छन् । मानिसहरू हिँड्न छाडेपछि पुलका लठ्ठाहरूमा खिया लाग्न थालेको छ । गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमाना गिरीङ्दीखोलामा रहेको झोलुङ्गे पुल पनि पक्की पुलकै कारण बेकामे बनेको स्थानीय नवीन राना बताउनुहुन्छ ।

बागलुङलाई ‘झोलुङ्गे पुलको जिल्ला’ भनेर चिनिन्छ । जिल्लाभर हाल ५०० भन्दा बढी यस्ता पुलहरू छन् । तर, सडक सञ्जालको पहुँच घर-घरमा पुगेपछि र गोरेटो बाटाहरू हराउँदै गएपछि यी पुलहरू संकटमा परेका हुन् । लगानी भइसकेका यस्ता भौतिक संरचनाहरूको समयमै व्यवस्थापन वा स्थानान्तरण नगरिए राज्यको करोडौँ लगानी बालुवामा पानी हुने निश्चित छ ।