‘वडाबाट भूसेवा प्रदान हुन थालेपछि नागरिकले झन्झट कम हुन थालेको अनुभूति भएको छ, सेवालाई विस्तार गर्दै सहज बनाउँदै लानेछौँ ‘ – कार्यवाहक प्रमुख, डंगोल
काठमाडौँ, वैशाख १७ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा तहबाटै भू–प्रशासन सेवा सुरु भएपछि नागरिकहरूले घरदैलोमै झन्झटमुक्त सेवा पाउन थालेको बताउनुभएको छ । महानगरपालिकाले नमूनाका रूपमा १० वटा वडाबाट सुरु गरेको ‘वडा भूमि प्रशासन सेवा केन्द्र’ बाट १५ दिनको छोटो अवधिमै ५४ जना नगरबासीले सेवा लिएका छन् ।
कार्यवाहक प्रमुख डंगोलका अनुसार, २०८२ चैत १२ गते मालपोत कार्यालय चावहिल, डिल्लीबजार र कलंकीसँग सम्झौता गरी २०८३ वैशाख २ गतेदेखि वडा नं. ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा यो सेवा प्रारम्भ गरिएको थियो । सेवा सुरु भएको १५ दिनमा ५४ जना लाभान्वित भएका छन्, जसमध्ये सबैभन्दा धेरै २१ जनाको स्वामित्व हस्तान्तरण गरिएको छ ।
१५ दिनमा ५४ जनाले लिए सेवा; १९ जनालाई प्रमाण पूर्जा र २१ जनाको स्वामित्व हस्तान्तरण
“हामीले नागरिकलाई सरकारी सेवा लिन मालपोत धाइरहनु पर्ने सास्ती अन्त्य गर्ने लक्ष्य राखेका थियौँ,” कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “अहिले वडाबाटै १९ जनालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिनु र स्वामित्व हस्तान्तरण हुनुले यो अभियान सफल भएको पुष्टि गर्छ ।”
प्रदान गरिएका सेवाहरूमा सगोलनामाको लिखत पारित, मृत्युपछिको नामसारी, राजीनामा लिखत पारित, छोडपत्र लिखत पारित, हालैदेखिको लिखत पारित र रैकर जग्गा दर्ता जस्ता महत्त्वपूर्ण कार्यहरू रहेका छन् ।
यसअघि महानगरले चारकिल्ला र घरबाटो शिफारिस मात्र दिँदै आएकोमा अब कार्यवाहक प्रमुख डंगोलको सक्रियतामा भूमिको स्वामित्व, हक सम्बन्धी सेवा, रोक्का तथा फुकुवा शिफारिस, र कर संकलन जस्ता सेवाहरू वडाबाटै उपलब्ध हुन थालेका छन् । सेवाग्राहीको पहिचानका लागि बायोमेट्रिक विवरण संकलन र बैंकमा रोक्का राख्ने प्रक्रिया समेत वडामै हुने व्यवस्था मिलाइएको छ ।
नेपालको संविधानले भूमि प्रशासनको अधिकार स्थानीय तहलाई सुम्पिए पनि पूर्वाधार अभावका कारण यो काम संघ सरकारले नै गर्दै आएको थियो । कार्यवाहक प्रमुख डंगोलले महानगरले आवश्यक जनशक्ति र प्रविधि तयार गरी संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
अहिले ससिम कित्ताको कारोबार र जग्गाधनी संकेत नम्बर कायम भएका कित्ताहरूको काम वडाबाटै भइरहेको छ । जग्गाधनी संकेत नम्बर नभएकाहरूको हकमा भने विवरण अद्यावधिकका लागि मालपोत कार्यालय पठाइने व्यवस्था गरिएको छ । यो सेवालाई आगामी दिनमा अन्य वडाहरूमा पनि विस्तार गर्ने महानगरको योजना छ ।