२५ सय वर्ष पुरानो आस्थाको उत्सव: बनेपामा चण्डेश्वरी जात्राको रौनक

काठमाडौँ, वैशाख १८ । बनेपा सहर अहिले बेहुलीझैँ सजिएको छ। गल्ली-गल्लीमा ढोलक र भुस्याको गुञ्जन छ। उत्तर-पूर्वी कुनामा अवस्थित चण्डेश्वरी मन्दिर परिसरमा भक्तजनको घुइँचो र उत्साहले छुट्टै रौनक थपेको छ। यो कुनै सामान्य मेला होइन, यो त बनेपाको पहिचान र करिब २५ सय वर्ष पुरानो ऐतिहासिक ‘चण्डेश्वरी भगवती जात्रा’ को सुरुवात हो ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा (चण्डी पूर्णिमा) देखि सुरु हुने यो जात्रा केवल एउटा धार्मिक अनुष्ठान मात्र होइन, यो बनेपावासीको रगतमा बगेको सांस्कृतिक विरासत पनि हो। मङ्गलबारदेखि सुरु भएको यो तीन दिने जात्राले बनेपालाई उत्सवमय बनाएको छ ।

पौराणिक कथा र शक्तिको विजय

स्थानीय संस्कृतविद् र बूढापाकाका अनुसार यो जात्राको सम्बन्ध दानवराज चण्डासुरको वधसँग जोडिएको छ। “कुनै पनि पुरुषले मलाई मार्न नसकोस्” भन्ने वरदान पाएका चण्डासुरले देवता र मानिसलाई निकै दुःख दिएका थिए। अन्ततः भगवतीले स्त्री रूप धारण गरी चण्डासुरको वध गरेर ब्रह्माण्डलाई त्राण दिएको खुसीयालीमा यो जात्रा मनाउन थालिएको विश्वास गरिन्छ । स्थानीय वृद्ध रामचन्द्र श्रेष्ठ भन्नुहुन्छ, “यो शक्तिको विजयको उत्सव हो। यहाँ चण्डेवरी माईलाई पुज्दा मागेको पुग्छ भन्ने अटुट जनविश्वास छ ।”

हनुमानढोकादेखि बकुटोलसम्म: जात्राको विधि

जात्राको पहिलो दिन मंगलबार बिहानैदेखि घरघरमा पूजा गरियो। यस जात्राको एउटा विशेष पक्ष भनेको काठमाडौंको हनुमानढोका दरबारबाट ल्याइने ‘खड्ग’ (तरबार) हो। उक्त खड्गसँगै मन्दिरभित्रका १२ वटा बोका बलि दिएर ‘सरकारी पूजा’ सम्पन्न गरिन्छ। मंगलबार राति नै जलेश्वर महादेवसम्म गरिने ‘मत पूजा’ (चिराग यात्रा) ले रातको अँध्यारोलाई चिरेर दैवी शक्तिको आगमनको संकेत गर्छ ।

जात्राको मुख्य आकर्षण रथ यात्रा हो। शनिबार (पूर्णिमाको भोलिपल्ट) बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको विशेष रथलाई भेडा बलि दिएपछि स्थानीय युवाहरूले काँधमा बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै मन्दिर पुर्‍याउँछन्। यो दृश्य हेर्न लायक हुन्छ— जब बजारका हरेक घरका झ्यालबाट स्थानीयले युवाहरूको साहस बढाउन त्यसरी नै नारा लगाउँछन् ।

तुलसीको काठबाट निर्मित सानो रथमा देवीलाई विराजमान गराई सहर परिक्रमा गराइन्छ। साहित्यकार मोहन दुवालका अनुसार, बकुटोलमा भण्डासुर दैत्यको वध गरिएको मानिने हुनाले त्यहाँ रथ पुग्दा भव्य स्वागत र बलि दिने परम्परा छ ।

बनेपाको ‘महाकुम्भ’

चण्डेश्वरी जात्रा यति महत्त्वपूर्ण छ कि यस अवधिभर बनेपाका विद्यालय, संघसंस्था र व्यापारिक केन्द्रहरू पूर्ण रूपमा बन्द रहन्छन्। बनेपाबाट बाहिर बसोबास गर्नेहरू पनि यो समयमा आफ्नो थातथलो फर्कन्छन्। विशेष गरी मानन्धर, भोछिभोया, राजवाहकलगायत नेवार समुदायको यसमा प्रत्यक्ष र सक्रिय सहभागिता रहन्छ।

तीन दिनसम्म चल्ने यो जात्राको अन्तिम दिन (तेस्रो दिन) अपराह्न मूर्तिलाई पुनः देवगृहमा पुर्‍याएपछि मात्र जात्रा औपचारिक रूपमा विसर्जन हुन्छ। टोल-टोलमा गुञ्जिने भजन, सडकमा देखिने मानव सागर र भक्तिभावले बनेपालाई आधुनिकताको भिडमा पनि आफ्नै प्राचीन जरासँग जोडेर राखेको छ ।

चण्डेश्वरी जात्रा केवल एउटा पर्व मात्र नभई नेपाली मौलिक संस्कृति, इतिहास र समुदायको एकताको प्रतीक बनेर उभिएको छ। यसले २५ सय वर्षदेखि निरन्तर एउटै उर्जाका साथ पूर्खाको गौरवलाई बोकिरहेको छ ।