म्याग्दीमा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

काठमाडौँ, वैशाख १८ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा सडक निर्माणका क्रममा पहिरो खस्दा एक डोजर चालकको ज्यान गएको छ । बेगको भिजरादेखि भजने जोड्ने सडकको मार्ग खन्ने क्रममा मंगलबार माथिबाट सुक्खा पहिरो खसेर डोजर पुरिँदा रघुगङ्गा गाउँपालिका-२ भगवती निवासी ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको हो । कार्की रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर चालक हुन् ।

घटनास्थलमा खटिएका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार, सडक खन्ने क्रममा एक्कासि खसेको पहिरोले चालक र डोजर दुवैलाई पुरेको थियो । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी र स्थानीयवासीको टोलीले करिब चार घण्टाको निरन्तर प्रयासपछि कार्कीको शव बाहिर निकालेका थिए । शव निकाल्न अन्य डोजर र ब्याकुहोलोडरको समेत प्रयोग गरिएको थियो ।

मृतक कार्कीको शवलाई परीक्षण (पोस्टमार्टम) का लागि बेनीस्थित प्रदेश अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक निर्माणका क्रममा सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि सुक्खा पहिरो खसेकाले यो दुःखद घटना हुन पुगेको प्रहरीले उल्लेख गरेको छ ।