मेची भन्सारबाट १० अर्ब ७० करोड रुपियाँको अलैँची निर्यात : चियाको निर्यातमा गिरावट

काठमाडौँ, वैशाख १८ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा मेची भन्सार कार्यालयमार्फत हुने अलैँची निर्यातमा उल्लेख्य वृद्धि भएको छ। भन्सार कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्ममा १० अर्ब ७० करोड ७ लाख १८ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको हो ।

यो निर्यात अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ४१.५८ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको थियो। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आवको नौ महिनामा कुल ५ हजार २९५.२५० मेट्रिक टन अलैँची निर्यात भएको छ । अलैँचीको निर्यात बढे पनि अर्को मुख्य निर्यातजन्य वस्तु चियाको व्यापारमा भने ह्रास आएको छ । तथ्याङ्कअनुसार चिया निर्यातमा २६.७३ प्रतिशतले कमी आई २ अर्ब ५८ करोड १९ लाख ८५ हजार रुपियाँमा खुम्चिएको छ । अघिल्लो वर्ष सोही अवधिमा ३ अर्ब २७ करोड २० लाख ७२ हजार रुपियाँ बराबरको चिया निर्यात भएको थियो ।

अन्य वस्तुहरूको निर्याततर्फ भेनियर सिटमा ३०.८८ प्रतिशत र छुर्पीमा ३०.३५ प्रतिशतको वृद्धि देखिएको छ। यद्यपि, केही वस्तुहरूको निर्यातमा भने उच्च गिरावट आएको छ। सूचना अधिकारी हुमागाईँका अनुसार प्लाइउड ३७.७३ प्रतिशत, अम्रिसो ३७.३३ प्रतिशत, फलामे पाता १ हजार ७४७.८१ प्रतिशत र मोलासिस ३६१.३५ प्रतिशतले घटेको छ। सिमेन्ट क्लिङ्करको निर्यात भने शतप्रतिशतले घटेको कार्यालयले जनाएको छ।

मेची भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कुल १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजार रुपियाँ बराबरको मालवस्तु निर्यात भएको छ ।