नवलपरासीको कावासोतीमा स्कुटर दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

काठमाडौँ, बैशाख १९ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ स्थित कालीगण्डकी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा रोकिराखिएको ट्रकमा स्कुटर ठोक्किँदा हुप्सेकोट गाउँपालिका-२ बस्ने निशा कुमालको मृत्यु भएको हो । फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको ग प्र ०४-००२ प २६२५ नम्बरको स्कुटर सडक किनारमा रोकिराखिएको प्र नं २-०४-००१ ख ००८२ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किएको थियो ।

दुर्घटनामा परी स्कुटरको पछाडि सवार कुमाल गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्काल उपचारका लागि चितवन पठाइएकोमा उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

सोही दुर्घटनामा स्कुटर चालक कावासोती नगरपालिका-८ निवासी ३७ वर्षीय शङ्कर श्रेष्ठ घाइते हुनुभएको छ । उहाँको हाल भरतपुरमा उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।