हुप्सेकोट गाउँपालिकाद्वारा ७६ सुत्केरीलाई पोषण खर्च वितरण

काठमाडौँ, बैशाख १९ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले चालु आर्थिक वर्षमा ७६ जना सुत्केरीलाई जनही पाँच हजार रुपियाँका दरले पोषण खर्च उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरी स्याहार पोषण खर्च कार्यक्रम’ मार्फत चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म ७६ जना सुत्केरी आमाहरूलाई सो रकम प्रदान गरिएको हो । सुत्केरी अवस्थामा आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणमा टेवा पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिनुभयो ।

अध्यक्ष पाण्डेका अनुसार सुत्केरी समयमा महिलालाई विशेष स्याहार र पोसिलो आहारको खाँचो हुने भएकाले गाउँपालिकाले आर्थिक सहायताको व्यवस्था मिलाएको हो । उहाँले भन्नुभयो, “हाम्रो मुख्य लक्ष्य मातृ तथा शिशु मृत्युदर घटाउनु हो । सुत्केरी महिलाले पोसिलो खानपान र उचित स्याहार पाऊन् भन्नेमा हामी सचेत छौँ ।”

यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले यो कार्यक्रमलाई मातृ स्वास्थ्यका साथै महिला आत्मनिर्भरताको कदमका रूपमा व्याख्या गर्नुभयो । उहाँका अनुसार पोषण खर्चसँगै स्वास्थ्य सल्लाह, नियमित स्वास्थ्य जाँच र भिटामिन वितरणजस्ता सेवाहरूलाई पनि पालिकाले प्राथमिकतामा राखेको छ ।

यो सुविधा प्राप्त गर्नका लागि हुप्सेकोट गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्ने र केही मापदण्डहरू पुरा गर्नुपर्ने व्यवस्था छ । स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार गर्भवती अवस्थामा कम्तीमा चार पटक स्वास्थ्य संस्थामा गर्भ जाँच गराएको, अनिवार्य रूपमा स्वास्थ्य संस्थामा सुत्केरी भएको र बच्चाको जन्म दर्ता गरेको प्रमाण पेस गरेपछि मात्र यो रकम उपलब्ध गराइन्छ ।

“यस कार्यक्रमले एकातिर गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण र संस्थागत सुत्केरी हुन प्रोत्साहन मिलेको छ भने अर्कोतिर समयमै जन्म दर्ता गर्ने बानीको समेत विकास भएको छ,” स्वास्थ्य शाखा प्रमुख सापकोटाले भन्नुभयो । रातोकितावमा समावेश यो कार्यक्रमले मातृ-शिशुको स्वास्थ्य र कानुनी पहिचान दुवैलाई सुनिश्चित गरेको छ ।