म्याग्दीका भिरपहरामा महसिकारको चटारो: पहिलो दिनमै ७० लिटर संकलन
म्याग्दी, १९ वैशाख । साहसिक र जोखिमपूर्ण मानिने भिरमौरीको मह निकाल्ने काम (महसिकार) म्याग्दीका विभिन्न लेकाली क्षेत्रमा सुरु भएको छ। जिल्लाको धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका अग्ला भिरपहराहरूमा यतिबेला महसिकारीहरूको चहलपहल बढेको छ।
धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाको नेतृत्वमा रहेको १५ जनाको टोलीले शुक्रबारदेखि महसिकार सुरु गरेको हो। सिजनको पहिलो दिनमै दुईवटा घारबाट करिब ७० लिटर मह निकाल्न सफल भएको पाइजाले जानकारी दिनुभयो। खोरीया नजिकैको महभिरबाट सुरु भएको यो अभियान अन्य पहराहरूमा पनि निरन्तर रहने उहाँले बताउनुभयो।
भिरमह जति स्वादिलो र स्वास्थ्यका लागि हितकर मानिन्छ, यसलाई निकाल्न त्यत्तिकै जोखिम मोल्नुपर्ने हुन्छ। अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका अनुभवी महसिकारी लोकबहादुर पाइजाका अनुसार बेँसीका भिरबाट सुरु भएको यो काम असारसम्म लेकका पहाडहरूमा पुगेर टुङ्गिन्छ।
सिकारीहरूले स्थानीय भाषामा ‘पराङ’ भनिने डोरीको भर्याङको सहायताले डरलाग्दा भिरमा झुण्डिएर मह निकाल्छन्। यसका लागि दुईवटा टोली परिचालन गरिन्छ— एउटा टोली भिरको माथिल्लो भागमा डोरी र पराङको सन्तुलन मिलाउन बस्छ भने अर्को टोली तल भुइँमा मह थाप्न र स्याहार्न खटिन्छ।
मह निकाल्न मुख्य चुनौती भनेकै हजारौँको सङ्ख्यामा रहेका मौरीहरू हुन्। महको चाका वरिपरि घेरिएर बसेका मौरीलाई हटाउन धुवाँको प्रयोग गरिन्छ। जब सिकारीले धुवाँ लगाउन सुरु गर्छन्, मौरीले टोक्ने डरले वरपरका सहयोगीहरू ओडार वा रुखमा लुक्छन्। मौरी भागेपछि मात्र मुख्य सिकारीले हतियार प्रयोग गरी चाका काट्छन् र डोरीको सहायताले भाँडामा भरेर मह तल पठाउँछन्।
वसन्त र शरद ऋतुलाई महसिकारका लागि उपयुक्त समय मानिन्छ। शुद्ध र गुणस्तरीय हुने भएकाले भिरमहको बजारमा निकै माग छ। अहिले बजारमा यसको मूल्य प्रतिलिटर रु ३ हजारदेखि रु ३ हजार ५०० सम्म पर्ने गर्दछ। शक्तिवर्द्धक र औषधीय गुण हुने हुनाले बिरामीहरूका लागि र धार्मिक कार्यका लागि पनि भिरमहको प्रयोग हुने गरेको उपभोक्ताहरूको अनुभव छ।