कार्यवाहक प्रमुख डंगोलको बालमैत्री र सेवामुखी नेतृत्व : होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै
काठमाडौँ, बैशाख २२ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको बालमैत्री र सेवामुखी नेतृत्वको परिणामस्वरुप राधास्वामी सत्संग व्यास आश्रममा रहेका ५२ जना बालबालिकाले आजदेखि औपचारिक शिक्षाको निरन्तरता पाउने भएका छन् । महानगरको शिक्षा विभागले बालबालिका र अभिभावकसँग परामर्श गरी उनीहरुको रुचि र आवश्यकता पहिचान गरेपछि आजैदेखि वडा नं. १४ मा रहेको जन विकास माध्यमिक माध्यमिक विद्यालयमा पठाउन लागिएको हो ।
नदी किनाराका अव्यवस्थित घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहितका विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना हाल आश्रममा बसोबास गरिरहेका छन् । ती परिवारका ५२ जना बालबालिका विद्यालय जाने उमेरका रहेका छन् । कार्यवाहक प्रमुख डंगोलले ती बालबालिकाको भविष्यप्रति संवेदनशीलता देखाउँदै शिक्षाको हक सुनिश्चित गर्न तत्काल पहल थाल्नुभएको थियो ।
कार्यवाहक प्रमुख डंगोलले आइतबार प्याब्सन, एनप्याब्सन, हिसान र एपेन जस्ता शैक्षिक संस्थाहरुका पदाधिकारीसँग विशेष बैठक राख्नुभएको थियो । बैठकमा उहाँले होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि संस्थागत विद्यालयमा आवास सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।
उहाँको बालमैत्री आग्रहपछि ती सबै शैक्षिक संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै वास्तविक सुकुम्बासीका बालबालिकाको शिक्षालाई निरन्तरता दिन र सहजीकरण गर्न आफूहरु तत्पर रहेको बताएका छन् । हिसानका अध्यक्ष युवराज शर्मा, प्याब्सनका कृष्णप्रसाद अधिकारी, एनप्याब्सनका सुवास न्यौपाने र एपेनका बद्रीप्रसाद दाहालले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै यो पवित्र कार्यमा महानगरलाई सघाउने प्रतिवद्धता जनाउनुभएको छ ।
छात्राबास बस्न ३० जना इच्छुक, एसईई दिएकालाई सीपमूलक तालिम
शिक्षा विभागका अनुसार विद्यालय उमेरका ५२ बालबालिकामध्ये ३० जना (११ छात्रा र १९ छात्र) ले छात्राबासमा बसेर पढ्न इच्छा व्यक्त गरेका छन् । अभिभावकहरुको चाहना अनुसार १० वर्ष माथिका बालबालिकालाई छात्राबासको प्रबन्ध गरिने महानगरका निर्देशक वसन्त आचार्यले जानकारी दिनुभयो । निजी तथा संस्थागत विद्यालयहरुबाट आवासको यकिन विवरण प्राप्त हुनासाथ इच्छुक बालबालिकालाई पठाइने तयारी छ ।
यस वर्ष एसईई दिएका ४ जना विद्यार्थीका लागि भने महानगरले उनीहरुकै रुचि अनुसार कम्प्युटर, सिलाइ–बुनाइ जस्ता सीपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको शिक्षा अधिकारी नमराज ढकालले बताउनुभयो ।
सेवाभाव र संवेदनशीलता
कार्यवाहक प्रमुख सुनिता डंगोलको सक्रियतामा विद्यालय जाने बालबालिकालाई आवश्यक पर्ने पोसाक र शैक्षिक सामग्रीको व्यवस्था समेत शिक्षा विभागले मिलाएको छ । वरिष्ठ शाखा अधिकृत सुशिल सुवेदीका अनुसार बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर उनीहरुलाई सहज र नजिकको विद्यालय (जनकल्याण मावि) मा पैदल दूरीमै पुग्न सक्ने गरी व्यवस्थापन गरिएको हो ।
अहिले आश्रममा ३१ जना बालिका र ३० जना बालक रहेका छन् । तीमध्ये एक जना अपाङ्गता भएका व्यक्ति, तीन जना सुत्केरी र दुई जना गर्भवती महिलाहरुको समेत विशेष हेरचाह र व्यवस्थापनमा महानगरपालिकाले ध्यान दिइरहेको छ । कार्यवाहक प्रमुख डंगोलको यो कदमले अप्ठ्यारोमा परेका बालबालिका र परिवारले राज्यको अभिभावकत्व महसुस गर्न पाएका छन् ।