करारको जागिर छाडेर बाख्रापाठासँग मितेरी : भुवानीको लोभलाग्दो पौरख

काठमाडौँ, वैशाख २२ । कुनै समय म्याग्दीको बेनीस्थित कृषि विकास कार्यालयमा फाइल र कागजात ओसारपसारमा व्यस्त भेटिने भुवानी पौडेलको परिचय अहिले फेरिएको छ । १० वर्षसम्म सरकारी कार्यालयमा सहयोगी (करार) कर्मचारीका रूपमा सेवा गरेका उनी आजभोलि फाइलसँग होइन, बाख्राका पाठापाठीसँग रमाइरहेका भेटिन्छन् ।

धौलागिरि गाउँपालिका-७ बगरका ५० वर्षीय भुवानीले सरकारी जागिरको सुरक्षित घेराभन्दा आफ्नै पौरखमा रमाउने बाटो रोजेका छन् । उनले सुरु गरेको ‘बगर कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ अहिले म्याग्दीकै एउटा सफल उदाहरण बनेको छ ।

संघीयतासँगै फेरिएको सोच
भुवानीको जीवन यात्रा संघर्षपूर्ण छ । ५ वर्ष खाडीको चर्को घाममा पसिना बगाएर फर्केपछि उनले वि.सं. २०६६ देखि बेनीमा कृषि कार्यालयको जागिर सुरु गरेका थिए । ११ वर्षसम्म करारको जागिर खाएका उनलाई मुलुक संघीयतामा गएपछि नयाँ सोच पलायो । उनलाई लाग्यो– “अरूको सेवा त धेरै गरियो, अब आफ्नै पाखा–पखेरामा केही गर्नुपर्छ ।”

त्यही सोचले उनलाई ९ वटा बाख्राबाट व्यावसायिक फार्म सुरु गर्न डोहोर्‍यायो । अहिले उनको खोरमा जमुनापारी जातका ६० भन्दा बढी बाख्रा र खसीबोका छन् ।

पसिनाको मूल्यः वार्षिक ५ लाखको आम्दानी
भुवानीको दैनिकी अहिले बाख्राको सुसारे बनेर बित्छ । वार्षिक ३५ देखि ४० वटासम्म खसीबोका बिक्री गरेर उनले वार्षिक ५ लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन् । “करारको जागिर र विदेशको हण्डरभन्दा आफ्नै ठाउँमा खेतीकिसानी गर्दा जुन सन्तुष्टि मिलेको छ, त्यो बयान गरी साध्य छैन,” भुवानी गर्वका साथ भन्छन् ।

यही आम्दानीबाट उनले आफ्ना तीन सन्तानलाई जिल्ला सदरमुकाम बेनीमा राखेर गुणस्तरीय शिक्षा दिलाउन सफल भएका छन् । बजारको चिन्ता उनलाई छैन, बरु खसीबोका र पाठापाठी खोज्दै ग्राहकहरू उनको घरदैलोमै पुग्ने गर्छन् ।

बाख्रासँगै सुन्तलाको सुवास
भुवानीले बाख्रापालनलाई मात्रै सीमित राखेका छैनन् । उनको बारीमा अहिले सुन्तलाका १०० बोटहरू छन्, जसमध्ये ४० बोटले उत्पादन दिन थालिसकेका छन् । सुन्तला खेतीलाई विस्तार गर्न उनले थप १०० बिरुवा रोपेका छन् । बाख्राको मल सुन्तला र तरकारी खेतीका लागि बरदान साबित भएको छ ।

भोटे कुकुरः बाख्राका ‘सुरक्षा गार्ड’
जङ्गलको छेउमा फार्म भएकाले वन्यजन्तुको त्रास सधैँ रहन्छ । तर, भुवानीले यसको पनि जुक्ति निकालेका छन् । उनले बाख्राको सुरक्षाका लागि एउटा भोटेसहित दुई वटा कुकुर पालेका छन् । जङ्गलमा चराउन लैजाँदा होस् वा रातको समयमा खोरको रेखदेख गर्दा, यी कुकुरहरूले भुवानीलाई ठुलो साथ दिएका छन् । “जङ्गली जनावरको संकेत पाउनेबित्तिकै कुकुर भुकेर जानकारी दिन्छन्, कतिपटक त बाघ-चितुवासँग भिडेर पनि बाख्रा बचाएका छन्,” उनले अनुभव सुनाए ।

श्रीमतीको साथ र भविष्यको सपना
भुवानीको यो सफलतामा उनकी श्रीमती भगवती पौडेलको पनि उत्तिकै पसिना मिसिएको छ । श्रीमान्–श्रीमती मिलेर बाख्राको स्याहार, घाँसपात र खेतीपाती सम्हाल्दै आएका छन् । घरवरपरको पाखामा उनले बहुवर्षीय डालेघाँस समेत रोपेका छन् ।

आफ्नै बुतामा आत्मनिर्भर बनेका भुवानी अहिले फार्मको पूर्वाधार विस्तार गर्ने सोचमा छन् । राज्यले वास्तविक किसानलाई पहिचान गरेर खोर सुधार र प्रविधिमा थोरै मात्र सहयोग गरिदिए म्याग्दीका थुप्रै पहाडहरूमा सुन फलाउन सकिने उनको विश्वास छ ।

भुवानी पौडेलको यो साहस र पौरखले देखाउँछ कि– अवसर खोज्न खाडी जानु पर्दैन र सानोतिनो जागिरमा अल्झिनु पर्दैन, आफ्नै माटोमा पसिना बगाउन सके आत्मनिर्भरता र सन्तुष्टि दुवै सम्भव छ ।