आईसीसी लिग–२: ओमानविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै, टोलीमा दुई परिवर्तन

काठमाडौँ, २२ वैशाख । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले आज ओमानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। आजको खेलमा ओमानलाई पराजित गर्दै शृङ्खलाको सुखद अन्त्य गर्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रिएको छ।

गत वैशाख १२ गतेदेखि सुरु भएको यस शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धका दुवै खेलमा सानदार जित दर्ता गरिसकेको छ। यद्यपि, ओमानसँगको पहिलो भेटमा भने नेपाल पराजित भएको थियो। आज नेपाल सोही हारको बदला लिने दाउमा छ।

आजको खेलका लागि नेपाली प्लेइङ–११ (अन्तिम एघार) मा दुईवटा परिवर्तन गरिएको छ। शुक्रबार यूएईविरुद्ध खेलेका भीम सार्की र सोमपाल कामीलाई आज विश्राम दिइएको छ। उनीहरूको स्थानमा ओपनर आसिफ शेख र तीव्र गतिका बलर करण केसीलाई टोलीमा फर्काइएको छ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशी रहेका छन्।

आईसीसी लिग–२ को अङ्क तालिकामा हालसम्म २३ खेल खेलेको नेपाल १६ अङ्कसहित सातौँ स्थानमा छ। त्यस्तै, २७ खेल खेलेको ओमान ३१ अङ्कका साथ तेस्रो स्थानमा रहँदा २४ खेलबाट १४ अङ्क जोडेको यूएई आठौँ स्थानमा सीमित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *