भन्सारमा कडाइपछि सुनौली नाकाको नेपाली बजार गुल्जार, व्यवसायी उत्साहित

रुपन्देही, २२ वैशाख । नेपाल सरकारले सीमा नाकामा हुने भन्सार छली र अवैध आयातमा कडाइ गरेसँगै रुपन्देहीको सुनौली (बेलहिया) नाकास्थित नेपाली बजार चलायमान बन्न थालेको छ। घरायसी सामानका नाममा विना भन्सार सामान भित्र्याउने कार्यलाई नियन्त्रण गरिएपछि सीमावर्ती नेपाली बजारमा ग्राहकको चहलपहल ह्वात्तै बढेको हो।

विगतमा घरायसी प्रयोजन भन्दै भारतीय बजारबाट विना भन्सार सामान ल्याउने प्रवृत्तिका कारण नेपाली बजार सुनसानप्रायः थियो। तर, पछिल्लो समय रु. १०० भन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू भएपछि स्थानीय उपभोक्ताहरू नेपाली बजारतर्फ नै आकर्षित भएका छन्। यसबाट एकातिर राज्यको राजस्वमा वृद्धि भएको छ भने अर्कोतिर लामो समयदेखि संकटमा रहेका स्वदेशी व्यवसायीले राहत महसुस गरेका छन्।

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्का सरकारको यो कदम उद्योगी–व्यवसायीका लागि सकारात्मक रहेको बताउनुहुन्छ। “घरायसी प्रयोजनका नाममा दिनभरमा पटक–पटक ओहोरदोहोर गरेर सामान ल्याउने र रातिको समयमा हुने तस्करी रोकिनुपर्छ,” उहाँले भन्नुभयो, “भन्सारमा कडाइ हुँदा नेपाली बजारले जीवन्तता पाएको छ।”

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्मा भारतीय बजार सधैँ सस्तो हुन्छ भन्ने नेपाली उपभोक्ताको मानसिकता परिवर्तन हुन जरुरी रहेको उल्लेख गर्नुहुन्छ। उहाँका अनुसार कतिपय सामान भारतमा भन्दा नेपालमै सस्तो र गुणस्तरीय पाइने भए पनि प्रचारको कमी थियो, जुन अहिले भन्सारको कडाइले गर्दा उपभोक्ताले बुझ्न थालेका छन्।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ भन्सार कडाइले राजस्व वृद्धि र स्वदेशी बजार प्रवद्र्धन मात्र नभई सामाजिक सुरक्षामा पनि टेवा पुग्ने दाबी गर्नुहुन्छ। “सीमापारि सामान किन्न जाने बहानामा कतिपय युवाहरू लागुऔषधको कुलतमा समेत फस्ने गरेका थिए, यो कडाइले त्यस्ता गतिविधिलाई पनि निरुत्साहित गर्छ,” श्रेष्ठले भन्नुभयो।

भैरहवा भन्सार कार्यालय बेलहियाका सूचना अधिकारी उद्धव ढुङ्गानाका अनुसार अहिले सीमामा सर्वसाधारणलाई भन्सार नियमबारे बुझाउने र कानुनअनुसार महसुल उठाउने काम भइरहेको छ। “यो नियम पुरानै भए पनि अहिले हामीले कडाइका साथ कार्यान्वयन गरेका हौँ,” उहाँले भन्नुभयो, “न्यून परिमाणमा सामान ल्याउने यात्रुलाई व्यवहारिक रूपमा सहजीकरण गरे पनि व्यावसायिक प्रयोजनका सामानलाई कडाइका साथ भन्सारको दायरामा ल्याइएको छ।”

विगतमा सानोदेखि ठूलो किनमेलका लागि भारतीय बजार पुग्ने स्थानीय उपभोक्ताहरू अहिले भन्सार तिर्दा सामान महङ्गो पर्ने भएपछि स्वदेशी पसलमै भर पर्न थालेका छन्। यसले भैरहवा र आसपासका साना तथा ठूला व्यवसायीलाई आफ्नो व्यवसाय निरन्तरता दिन हौसला मिलेको छ।