कोशी र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना, यस्तो छ अन्य प्रदेशको मौसम

काठमाडौँ, २२ वैशाख । नेपालमा हाल स्थानीय र पश्चिमी वायुको प्रभावका कारण मौसममा फेरबदल भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी तथा हिमाली भू-भागमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । वर्षासँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । बाँकी प्रदेशका एक-दुई स्थानमा पनि मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

वर्षा, चट्याङ र हावाहुरीका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न र दैनिक जनजीवनमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।