सडक आश्रितमुक्त काठमाडौँको सपना : सहयोगापेक्षीको ‘अभिभावक’ बनेर होल्डिङ सेन्टरमा कार्यवाहक प्रमुख सुनिता डंगोल
काठमाडौँ , वैशाख २३ । मंगलबार दिउँसो तिलगंगास्थित नवनिर्मित ‘होल्डिङ सेन्टर’को माहोल अलि भिन्न थियो । पशुपति क्षेत्रका सडक र पेटीबाट भर्खरै उद्धार गरिएका व्यक्तिहरूको आँखामा अन्योल र आशा दुवै थियो । त्यही भिडमा पुगेर उनीहरूको हात समात्दै र दुःख-सुख सोध्दै हुनुहुन्थ्यो – काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ।
“हामी काठमाडौँलाई सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ,” उद्धार गरिएकाहरूसँग आत्मीय कुराकानी गरेपछि डंगोलले दृढताका साथ भन्नुभयो, “सहरमा काम गर्न सक्नेले श्रम गरेर खानुपर्छ, तर जसको कोही छैन र श्रम गर्न सक्ने अवस्थामा हुनुहुन्न, उहाँहरूको मानवोचित व्यवस्थापनको जिम्मेवारी महानगरले लिनेछ ।”
पशुपति क्षेत्रलाई सडक मानवमुक्त बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त प्रयासमा वैशाख २३ गतेदेखि वडा नं. ८ तिलगंगामा यो होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको हो । सञ्चालनको पहिलो दिन नै पशुपति क्षेत्रबाट ३६ जनाको उद्धार गरियो, जसमध्ये २८ जना अहिले सेन्टरको संरक्षणमा छन् ।
उद्धारको सकस र चुनौती
सडकमा बस्ने बानी परेकाहरूलाई नयाँ वातावरणमा अभ्यस्त गराउनु कम चुनौतीपूर्ण छैन । उद्धार गरी सेन्टरमा पुर्याइएका मध्ये ६ जना त पर्खाल नाघेरै भागे । सेन्टरमा पुगेर उनले त्यहाँको पूर्वाधार, खानपान र स्वास्थ्य सुविधाको मसिनो गरी निरीक्षण गर्दै उहाँले भन्नुभयो, “हाम्रो पहिलो लक्ष्य पारिवारिक पुनर्मिलन नै हो । घरबार नभएका र बेवारिसेलाई मात्र आश्रममा राखिनेछ ।” उनले बिरामी अवस्थाका व्यक्तिहरूलाई तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
विविधता र वास्तविकता
सेन्टरमा ल्याइएकाहरूको कथा फरक-फरक छ । कोही ७८ वर्षका वृद्ध छन् त कोही २५ वर्षका युवा । कोही ह्विलचेयर र वैशाखीको सहारामा छन् भने कोही मानसिक समस्याका कारण आफ्नै दुनियाँमा हराइरहेका छन् । सोलुखुम्बुदेखि सुर्खेतसम्म र सर्लाहीदेखि दोलखासम्मका मानिसहरू पशुपतिको सडकमा आश्रित भेटिएका छन् । एक वृद्ध त कुकुरले टोकेर घाइते भएको अवस्थामा फेला परेका थिए ।
मानव सेवा आश्रमका उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार उद्धार गरिएकामध्ये ६ जना महिला छन् । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले सेन्टरको पूर्वाधारलाई अझ व्यवस्थित र सुरक्षित बनाउन कोषले निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
समन्वयको सन्देश
कार्यवाहक प्रमुख डंगोलको यो भ्रमणले सडकमा रहेका नागरिकप्रति महानगरको संवेदनशीलता प्रस्ट पारेको छ । उहाँले यो अभियानलाई सफल बनाउन व्यक्ति, परिवार र साझेदार संस्थाहरू विचको समन्वय अपरिहार्य रहेको बताउनुभयो ।
“यो केवल उद्धार मात्र होइन, एउटा मर्यादित जीवनको सुरुवात हो,” डंगोलले भन्नुभयो । पशुपति क्षेत्रबाट सुरु भएको यो अभियानले काठमाडौँका सडकमा कोही पनि भोकै र बासविहीन नहुने नयाँ आशा जगाएको छ ।