खाँदबारी-किमाथाङ्का सडक : नेपाली सेनाद्वारा कठिन खण्डको ‘ट्रयाक ओपन’ र स्तरोन्नति सम्पन्न

काठमाडौँ, वैशाख २४ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको बहुप्रतिक्षित खाँदबारी-किमाथाङ्का सडकखण्डको अति कठिन खण्डमा ‘ट्रयाक ओपन’ सहित स्तरोन्नतिको कार्य सम्पन्न भएको छ । सङ्खुवासभाको उत्तरी क्षेत्रलाई जोड्ने १६२ किलोमिटर लामो यस सडक मध्ये १०.८ किलोमिटरको सबैभन्दा जटिल खण्ड निर्माणको जिम्मेवारी नेपाली सेनाले सफलतापूर्वक पूरा गरेको हो ।

भौगोलिक रूपमा विकट र कडा चट्टानी पहरा भएको उक्त क्षेत्रमा काम गर्न निकै चुनौतीपूर्ण मानिएको थियो । खाँदबारी-किमाथाङ्का सडक आयोजनाका प्रमुख शमशेर सिंहका अनुसार, नेपाली सेनाले यस वर्ष २.२१ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको छ भने ४.३१ किलोमिटर सडकखण्डको स्तरोन्नति गरेको छ ।

कडा चट्टान र सडक पहुँच नभएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री र मेसिनरी औजार ढुवानी गरेर कार्यस्थलसम्म पुर्‍याएको थियो । सडक निर्माणका लागि दैनिक १४० जना जनशक्ति परिचालन गरिएको थियो । गत २०८१ माघ १४ गते नै यस सडकखण्डको ‘ब्रेक थ्रु’ भइसकेकोमा अहिले स्तरोन्नति र पहिरो हटाउने कार्य समेत सकिएको छ ।

चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो व्यापारिक मार्गका रूपमा लिइने किमाथाङ्का-जोगबनी सडकखण्ड सञ्चालनमा आएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । सडक निर्माणको काम सम्पन्न भएसँगै सेनाले यो सडकखण्ड उत्तर-दक्षिण कोशी सडक आयोजनालाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

कडा चट्टान फोर्न विस्फोटक पदार्थको प्रयोग अनिवार्य भएकाले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले यो खण्ड निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । आयोजनाका अनुसार यस सडक निर्माणमा हालसम्म कुल ६२ करोड ३६ लाख ६७ हजार रुपियाँ खर्च भइसकेको छ । सडक विस्तारसँगै यस क्षेत्रमा व्यापारिक गतिविधि बढ्ने र सीमामा भन्सार कार्यालय स्थापना हुनेमा स्थानीय बासिन्दा आशावादी देखिएका छन् ।