सुनको मूल्य आज पनि वृद्धिः कति पुग्याे तोलाकाे ?
काठमाडौँ, २४ वैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ। बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १०५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि लगातार वृद्धि भइरहेको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला केही दिनयता सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिँदै आएको छ। गत मङ्गलबार मात्रै सुन प्रतितोला २ लाख ९१ हजार र चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो।
स्थानीय बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको कारोबार मूल्य उच्च बिन्दुमा पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ७०३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७७ डलरमा कारोबार भइरहेको छ।