तीन प्रदेशका पर्यटकीय गाउँहरूको प्रवर्धनमा जुट्यो ‘भिटोफ’

काठमाडौँ,  वैशाख २५ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले देशका तीनवटा प्रदेशमा रहेका पर्यटकीय सम्भावना बोकेका गाउँहरूको प्रवर्द्धन कार्य सम्पन्न गरेको छ । ग्रामीण पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले भिटोफले मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न गाउँहरूको अध्ययन तथा प्रवर्धन गरेको हो ।

भिटोफ नेपालले भर्खरै मधेस प्रदेशको पर्सास्थित सुवर्णपुर, बागमती प्रदेशको चितवनस्थित माडी र गण्डकी प्रदेशको तनहुँस्थित बन्दीपुर क्षेत्रमा प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गरेको छ । यस क्रममा पर्साको ठोरी गाउँपालिकास्थित ‘सुवर्णपुर सुनाखरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास)’, माडी र बन्दीपुरका होमस्टेहरूको स्थलगत अध्ययन गरिएको छ ।

भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियाले ग्रामीण क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्न यी क्षेत्रहरूमा पर्यटन विकासका चुनौती र अवसरबारे स्थानीय सरोकारवालाहरूसँग विस्तृत छलफल गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय सम्भावना भएका गाउँहरूको पहिचान र प्रवर्द्धनमार्फत स्थानीयको आयआर्जन बढाउन र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन हामी सक्रिय छौँ ।”

वि.सं. २०५३ देखि गाउँ पर्यटनको विकासमा क्रियाशील यस संस्थाले हालसम्म सातै प्रदेशका करिब ५० वटा गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गरिसकेको छ । ग्रामीण भेगमा पाइने रैथाने खाना, मौलिक संस्कृति, परम्परागत भेषभुषा र स्थानीय रहनसहनलाई प्रमुख आकर्षणका रूपमा अगाडि बढाउने भिटोफको लक्ष्य रहेको छ ।

यस्ता प्रवर्द्धनात्मक भ्रमण र अध्ययनले ग्रामीण पर्यटनका नयाँ गन्तव्यहरू पहिचान गर्न र ती क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास अध्यक्ष थपलियाले व्यक्त गर्नुभयो ।