वैशाख २९ भित्रै एसइईको नतिजा सार्वजनिक गर्ने बोर्डको अन्तिम तयारी
काठमाडौँ, वैशाख २७ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा चालू वैशाख महिनाभित्रै सार्वजनिक गर्ने गरी अन्तिम तयारी सुरु गरेको छ ।
गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको कार्य सम्पन्न भइसकेको छ । बोर्डका अनुसार आगामी वैशाख २९ गतेभित्रै परीक्षाफल सार्वजनिक गर्ने लक्ष्यका साथ हाल नतिजा प्रशोधनको काम तीव्र रूपमा भइरहेको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजालाई त्रुटिरहित बनाउन हाल ३५ जना प्राविधिक कर्मचारीहरू ‘टेबुलेसन’ (विवरण प्रविष्टि र प्रशोधन) को कार्यमा अहोरात्र खटिएको जानकारी दिनुभयो। उहाँले तोकिएको समयसीमाभित्रै नतिजा प्रकाशन गर्ने गरी कार्यालयले कार्यतालिका बनाएको बताउनुभयो ।
‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ मा परीक्षा सम्पन्न भएको छोटो अवधिमै उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। सोही प्रावधान र विद्यार्थीहरूको शैक्षिक सत्रलाई मध्यनजर गर्दै बोर्डले यस वर्ष छिटो नतिजा ल्याउन लागेको हो ।
प्राप्त तथ्याङ्कअनुसार, यस वर्षको परीक्षामा नियमित र स्तरवृद्धितर्फ गरी देशभरबाट करिब ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । बोर्डले नतिजा सार्वजनिक गरेलगत्तै कक्षा ११ को भर्ना प्रक्रिया सुरु गर्न सहज हुने अपेक्षा गरिएको छ ।