वायु सेवा निगमले जहाज खरिद गर्न लिएकाे ऋणकाे सावाँ-ब्याज गरेर ५५ अर्ब पुग्यो
काठमाडौँ, १ जेठ । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि लिएको ऋणको सावाँ र ब्याजको दायित्व ५५ अर्ब रुपैयाँ नाघेको छ। महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने कुल सावाँ तथा ब्याज ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको हो।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि ‘ए–३२०’ न्यारोबडी र ‘ए–३३०’ वाइडबडी जहाज खरिद गर्दा सरकारको जमानीमा यी दुई संस्थाबाट ऋण लिएको थियो।
महालेखाको प्रतिवेदनअनुसार निगमले कर्मचारी सञ्चय कोषलाई सावाँ र ब्याज गरी ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ। निगमले २०७० असार ४ गते र २०७४ जेठ २८ गते गरी उक्त कोषबाट कुल २२ अर्ब रुपैयाँ ऋण लिएको थियो।
त्यसैगरी, नागरिक लगानी कोषबाट लिएको १२ अर्ब रुपैयाँ ऋणको दायित्व पनि बढेर २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ पुगेको छ।
लामो समयदेखि ऋणको किस्ता र ब्याज नियमित भुक्तानी गर्न नसक्दा निगमको ऋण भार बर्सेनि चुलिँदै गएको हो। कोभिड–१९ को महामारी र कमजोर व्यवस्थापनका कारण आम्दानी खुम्चिएपछि निगमले वित्तीय दायित्व पुरा गर्न सकेको छैन। सरकारको जमानीमा लिइएको यो ठूलो परिमाणको ऋण र यसको बढ्दो ब्याजले निगमको ऋण बढ्दै गइरहेकाे छ ।