रैथाने बाली जोगाउन षडानन्द नगरपालिकाको सक्रियता: बीउ बैंक स्थापना गरी संरक्षण अभियान सुरु
भोजपुर, ३ जेठ । भोजपुरको षडानन्द नगरपालिकाले हराउँदै गएका स्थानीय तथा रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि ‘बीउ बैंक’ स्थापना गरी विशेष अभियान सुरु गरेको छ । परम्परागत कृषि प्रणाली र स्थानीय जातका बीउहरू हराउँदै जाने जोखिम बढेपछि नगरपालिकाले यसको दीर्घकालीन संरक्षणमा चासो देखाएको हो ।
नगरपालिकाले किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख प्रजातिहरूको पुनः उत्पादन गर्ने र कृषि जैविक विविधतालाई जोगाउने लक्ष्य राखेको छ । नगर प्रमुख सुरेन्द्रकुमार उदासका अनुसार स्थानीय बीउको अस्तित्व बचाउनु नै यस अभियानको मुख्य उद्देश्य हो ।
“हामीले स्थानीय रैथाने बालीको विकासलाई प्राथमिकतामा राखेका छौँ,” प्रमुख उदासले भन्नुभयो, “बीउ बैंकमार्फत बीउ सङ्कलन गरी किसानलाई वितरण गर्ने कार्यलाई निरन्तरता दिएका छौँ ।”
कृषि शाखाका अनुसार हालसम्म नगरपालिकाले यस क्षेत्रमा उत्पादन हुने २७ वटा विभिन्न बालीका ११५ वटा जात सङ्कलन गरिसकेको छ । यसमा कोदो, फापर, जौ, चिनो, कागुनो, गहत, भटमास, सिमी र मकै जस्ता महत्वपूर्ण रैथाने बालीका बीउहरू समावेश छन् ।
कृषि शाखा प्रमुख दिपेन थापाले सङ्कलित बीउहरू किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको जानकारी दिनुभयो । “हामीले बीउ संरक्षण मात्र गरेका छैनौँ, किसानलाई बीउ छनोट र संरक्षण विधिको तालिम समेत दिएर रैथाने बालीको क्षेत्र विस्तार गरिरहेका छौँ,” थापाले भन्नुभयो ।
नगर उपप्रमुख प्रमिला राईले स्थानीय बीउको अस्तित्व सङ्कटमा पर्न नदिन यो पहल प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले आगामी दिनमा यी रैथाने बालीको उत्पादन मात्र नभई तिनको बजारीकरण र ‘ब्रान्डिङ’ मा समेत जोड दिने योजना बनाएको छ ।
रैथाने बालीको मूल्य अभिवृद्धि गर्दै किसानको आयस्तर वृद्धि गर्न र नगरपालिकालाई रैथाने बालीको केन्द्रका रूपमा विकास गर्न यो अभियान कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । आधुनिक कृषि प्रविधि र परम्परागत बीउको फ्युजनमार्फत षडानन्द नगरपालिकाले कृषि क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गर्न खोजेको छ ।
i