मच्छेगाउँमा एक महिने मत्स्यनारायण मेला सुरु, दर्शनार्थीको घुइँचो
काठमाडौँ, ३ जेठ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आजदेखि एक महिने ‘पुरुषोत्तम मास’ अर्थात् मत्स्यनारायण मेला विधिवत रूपमा सुरु भएको छ।
प्रत्येक तीन वर्षमा पर्ने मलमास (अधिक मास) को अवसरमा लाग्ने यस मेलामा काठमाडौँ उपत्यकासहित देशभरबाट लाखौँ भक्तजनको आगमन हुने गर्दछ।
धार्मिक मान्यताअनुसार मलमास अवधिभर भगवान् नारायणको पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास गरिन्छ। यही विश्वासका साथ आज बिहानैदेखि मत्स्यनारायण मन्दिरमा दर्शनार्थीहरूको लामो लाम लागेको छ।
हिन्दु धर्मशास्त्रअनुसार भगवान् विष्णुले लिएका दश अवतारमध्ये मत्स्य अवतारलाई पहिलो अवतार मानिन्छ। प्रलयकालमा मत्स्य रूप धारण गरी भगवान्ले समुद्रमा डुङ्गाको काम गर्दै मानव जाति र वेदको रक्षा गरेको पौराणिक कथा यस मन्दिरसँग जोडिएको छ।
मलमासका बेला अन्य कुनै पनि शुभ कार्य वा अन्य मन्दिरमा विशेष पूजाआजा नहुने भए पनि मत्स्यनारायणको दर्शन गर्नुलाई निकै फलदायी मानिन्छ।