भूमिहीन र अव्यवस्थित बसोबासीले गरे बुटवलमा विशाल प्रदर्शन
बुटवल, ३ जेठ । सार्वजनिक जग्गा संरक्षणका नाममा सरकारले वैकल्पिक व्यवस्था नगरी वर्षौंदेखि बस्दै आएका बस्तीहरूमा ‘डोजर आतङ्क’ मच्चाएको भन्दै भूमिहीन र अव्यवस्थित बसोबासीले आज बुटवलमा विशाल प्रदर्शन गरेका छन्।
नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समिति रूपन्देहीको आयोजनामा भएको उक्त प्रदर्शनमा रूपन्देहीसहित देशका २२ भन्दा बढी जिल्लाबाट ३० हजारभन्दा बढी नागरिकको सहभागिता रहेको आयोजकले दाबी गरेको छ। बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्याली मिलनचोक र अस्पताल लाइन हुँदै ट्राफिक चोक पुगेर सभामा परिणत भएको थियो।
प्रदर्शनमा सहभागीहरूले सरकारको पछिल्लो कदमप्रति चर्को आक्रोश व्यक्त गरेका छन्। “वैकल्पिक व्यवस्था नगरी डोजर चलाउन पाइँदैन,” “भूमिहीनलाई भूमि देऊ,” र “जग्गा धनी पुर्जा वितरण गर” जस्ता नारा लगाउँदै उनीहरूले आफ्नो बसोबासको ग्यारेन्टी गर्न माग गरेका हुन्।