२४ कम्पनीलाई आइपिओ निष्कासनको अनुमति, ९ अर्बभन्दा बढीको शेयर बजारमा आउँदै
काठमाडौँ, ३ जेठ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ वटा कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डको तथ्याङ्कअनुसार यी कम्पनीहरूले कुल ९ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गर्ने तयारी गरेका छन् ।
बोर्डका अनुसार अनुमति पाएका कम्पनीहरूले कुल ९ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री गर्नेछन् ।
अनुमति पाउने कम्पनीहरूमध्ये सबैभन्दा धेरै १५ वटा जलविद्युत् आयोजना रहेका छन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १०३ वटा जलविद्युत् कम्पनी सूचीकृत भई कारोबार भइरहेको अवस्थामा थप १५ आयोजनाहरू बजारमा भित्रिने प्रक्रियामा रहेका हुन् । यस्तै, उत्पादन तथा प्रशोधन क्षेत्रका ७ वटा कम्पनीले पनि शेयर निष्कासनको स्वीकृति पाएका छन् । विकास बैंक र होटल एवं पर्यटन क्षेत्रका १–१ वटा कम्पनीलाई पनि बोर्डले अनुमति दिएको छ ।
शेयर बजारमा भित्रिनका लागि अझै ९८ वटा कम्पनीहरू बोर्डको स्वीकृतिको प्रतीक्षामा रहेका छन् । आइपिओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा पनि जलविद्युत् क्षेत्रकै बाहुल्यता देखिएको छ ।
बोर्डका अनुसार आवेदन दिएका ९८ कम्पनीमध्ये: जलविद्युत् क्षेत्र: ३२ कम्पनी, उत्पादन तथा प्रशोधन: २६ कम्पनी, होटल तथा पर्यटन: १८ कम्पनी, लगानी समूह: ५ कम्पनी, अन्य समूह: १४ कम्पनी, माइक्रो इन्स्योरेन्स: ३ कम्पनी रहेका छन् ।
लामो समयदेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डले पछिल्लो समय आइपिओ निष्कासन प्रक्रियालाई तीव्रता दिन थालेपछि लगानीकर्ताहरूमा उत्साह थपिएको छ । स्वीकृतिका लागि पाइपलाइनमा रहेका कम्पनीहरूको सङ्ख्या ठूलो भएकाले आगामी दिनमा बजारमा प्राथमिक शेयरको ठूलो आपूर्ति हुने देखिएको छ ।