सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा दुर्गा प्रसाईं पक्राउ
वीरगञ्ज, ५ जेठ । मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार राति वीरगञ्जस्थित दियालो होटलबाट उनलाई नियन्त्रणमा लिएको हो।
प्रसाईंलाई पक्राउ गर्ने क्रममा प्रहरी र उनका समर्थकबीच केही बेर वादविवाद समेत भएको थियो। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।
पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बस्नेतका अनुसार प्रसाईंले सार्वजनिक रूपमा दिएका विवादास्पद अभिव्यक्ति र सार्वजनिक शान्तिमा खलल पुर्याउने गतिविधिबारे अनुसन्धान भइरहेको छ।
“उहाँले विभिन्न सञ्चारमाध्यम र सार्वजनिक मञ्चहरूमा दिएका अभिव्यक्ति तथा शान्ति सुरक्षामा पर्न सक्ने प्रभावका विषयमा हामीले प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ,” डीएसपी बस्नेतले भन्नुभयो। प्रहरीले उनलाई अदालतमा पेस गरी म्याद थप गर्ने तयारी गरिरहेको छ।
मङ्गलबार वीरगञ्जमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै त्यहाँ पुगेका थिए। विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले वर्तमान सरकार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सोही पार्टीका सांसदहरूमाथि कडा टिप्पणी र आलोचना गरेका थिए।