बौद्धनाथ क्षेत्रको अध्ययन–अनुसन्धान अभिलेख असुरक्षित : सुरक्षित राख्न महालेखाको निर्देशन
काठमाडौँ, १२ जेठ । बौद्धनाथ क्षेत्र विकास समितिले सञ्चालन गर्ने अध्ययन तथा अनुसन्धानका महत्त्वपूर्ण अभिलेखहरू सुरक्षित नराखेको पाइएको छ। महालेखापरीक्षकको हालै सार्वजनिक ६३औँ वार्षिक प्रतिवेदनले समितिको यो कमजोरी औँल्याउँदै ती सामग्रीहरूलाई वैज्ञानिक ढङ्गले सुरक्षित राख्न निर्देशन दिएको हो।
प्रतिवेदनअनुसार समितिले प्रत्येक वर्ष बौद्ध धर्मसँग सम्बन्धित सामाजिक, आर्थिक, सांस्कृतिक र पुरातात्विक मूर्त–अमूर्त वस्तुहरूको अध्ययन–अनुसन्धान गर्ने गरे पनि त्यसलाई सुरक्षित राख्ने कुनै ठोस संयन्त्र बनाएको छैन। ‘बौद्धनाथ क्षेत्र विकास समिति गठन आदेश, २०५३’ को दफा ४ ले सो क्षेत्रका सांस्कृतिक र पुरातात्विक वस्तुको संरक्षण गर्ने जिम्मेवारी समितिलाई सुम्पिएको छ।
महालेखाले समितिका अनुसन्धानात्मक सामग्रीहरूलाई विषयगत रूपमा डिजिटल प्रणाली, अर्काइभ वा अन्य वैज्ञानिक पद्धतिबाट सुरक्षित राख्न नसक्नुलाई गम्भीर त्रुटि मानेको छ। ऐतिहासिक महत्त्वका यी दस्तावेजहरू नष्ट हुन सक्ने जोखिम देखिएकाले तत्काल व्यवस्थित अभिलेख प्रणाली लागू गर्न महालेखाले सचेत गराएको हो।
प्रतिवेदनले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रको विकासमा देखिएको प्रशासनिक अड्चनबारे पनि उल्लेख गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको क्षेत्र विकास समिति र भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको गुठी संस्थान मातहत रहेको ‘बौद्ध तथा मेलम्ची घ्याङ गुठी’ बीच लामो समयदेखि क्षेत्राधिकारको विवाद चल्दै आएको छ।
दुई सरकारी निकायबीचको यो टकरावका कारण बौद्ध क्षेत्रका सम्पदाहरूको समुचित विकास र विदेशी पर्यटकलाई आकर्षित गर्ने भौतिक पूर्वाधार निर्माणका कार्यहरू सुस्त बनेका छन्। सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि यी निकायहरूबीच समन्वय हुनुपर्ने र पुराना अनुसन्धानको प्रतिवेदनका आधारमा विकासका योजना तय गरिनुपर्नेमा महालेखाले जोड दिएको छ।