कपिलवस्तुमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, ३८ जना घाइते

बुटवल, १२ जेठ । कपिलवस्तुको महाराजगंज नगरपालिका–४ बरइपुरमा सोमबार बिहान एउटा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस तौलिहवा–बहादुरगंज हुलाकी सडकखण्डमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार आज बिहान करिब सवा ३ बजे बस आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा घाइते भएका ३८ जनामध्ये दुई जनाको अवस्था निकै गम्भीर रहेको कपिलवस्तुका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले जानकारी दिनुभयो। यस्तै, १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य रहेको छ।

“दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो,” एसपी भट्टले भन्नुभयो, “सबै घाइतेहरूलाई उपचारका लागि तत्काल विभिन्न अस्पतालहरूमा पठाइएको छ।” प्रहरीका अनुसार बसमा सवार अन्य केही यात्रुहरू भने सकुशल रहेका छन्।