भदौ २४–२४ को घटनामा रास्वपा सभापतिसहित १७ सांसदमाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सुझाव

काठमाडौं, १३ भदौ । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का करीब डेढ दर्जन सांसदमाथि अनुसन्धान गर्न भनेको छ । २३ र २४ भदौको घटनामा संलग्न रास्वपा सभापति रवि लामिछाने सहित सो दलका १७ जना सांसदमाथि अनुसन्धान गर्न आयोगले सिफारिस गरेको हो । आयोगले सभापति लामिछाने नख्खु कारागारबाट निस्किँदा कैदीबन्दी बाहिर पठाउन संलग्नता रहेको किटान सहित सूक्ष्म अनुसन्धान गर्न भनेको छ ।

त्यही घटनामा प्रवक्ता मनिष झा र नेता हरि ढकाललाई पनि अनुसन्धान गर्न भनेको छ । रास्वपाका सांसदहरू सुधन गुरुङ, दीपक बोहरा, गणेश कार्की, सुलभ खरेल, शिव यादव, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा। तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, आशिका तामाङ, ज्वाला संग्रौला, सोम शर्मा र पुरुषोत्तम यादवलाई अनुसन्धान गर्न सिफारिस गरिएको छ । रास्वपा केन्द्रीय सदस्य खेमराज साउद र बाजुराबाट रास्वपा उम्मेदवार हेमराज थापालाई पनि अनुसन्धान गर्न भनिएको छ ।

प्रदर्शनअघि, प्रदर्शन जारी रहँदा र पछि पनि उनीहरूले दिएका अभिव्यक्तिबारे स्मरण गराउँदै संकलन गरेको सूचना, सामाजिक सञ्जाल, प्रकाशित समाचार लगायतका आधारमा उनीहरू प्रदर्शनमा सहभागी हुनसक्ने भन्दै आयोगले अनुसन्धानका लागि सिफारिस गरेको हो ।

‘उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्न विभिन्न कोणबाट टिका टिप्पणी समेत देखिँएको भन्दै २३ र २४ भदौको घटनामा भएको मानवीय तथा भौतिक क्षति समेता निजहरूको संलग्नता रहे–नरहेको निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारी आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा अनुसन्धान हुन आवश्यक देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।