एसियाली खेलकुद महिला क्रिकेट छनोटः नेपालद्वारा चीनलाई १२६ रनको लक्ष्य
काठमाडौँ, १३ जेठ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत चीनविरुद्धको खेलमा नेपालले जितका लागि १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेको हो।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याउन पूजा महतोले उत्कृष्ट अर्धशतकीय पारी खेलिन्। उनले ५७ बलको सामना गर्दै ६ चौकाको मद्दतमा सर्वाधिक ६३ रनको योगदान दिइन्।
त्यस्तै, रुबी पोदारले अविजित रहँदै २२ रन बनाइन् भने सोनी पाख्रिनले १८ रन जोडिन्। यी तीनबाहेक अन्य नेपाली ब्याटरले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन्। कविता कुँवरले ५ तथा सम्झना खड्का र रुविना क्षेत्रीले समान ४/४ रन मात्र बनाए।
बलिङतर्फ चीनकी मा रुइकाले सर्वाधिक २ विकेट लिइन्। त्यसैगरी, वाङ हुइयिङ र जियापिङ लीले समान १/१ विकेट हात पारे।
यस छनोट प्रतियोगितामा जम्मा ६ राष्ट्र सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा रहेको छ। यो समूहमा नेपालसँगै चीन र इन्डोनेसिया रहेका छन्। त्यसैगरी, समूह ‘ए’ मा आयोजक मलेसिया, हङकङ र थाइल्यान्ड रहेका छन्। यस छनोट प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले यसै वर्ष जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।