राष्ट्रियसभाबाट निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक स्वीकृत
काठमाडौँ, १३ जेठ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाबाट निर्वाचनसँग सम्बन्धित दुईवटा महत्त्वपूर्ण विधेयक सर्वसम्मतिले स्वीकृत भएका छन्।
आज बसेको राष्ट्रियसभा बैठकले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती दुवै विधेयक सभामा प्रस्तुत गरेकी थिइन्। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू सुरेशकुमार आले मगर, पदमबहादुर परियार र खम्बबहादुर खातीले भाग लिँदै आ–आफ्ना धारणा राखेका थिए। सांसदहरूले निर्वाचन प्रणालीलाई थप समावेशी र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिएका थिए।
सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै कानुनमन्त्री गौतमले निर्वाचन प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरू र पिछडिएका क्षेत्रका नागरिकको पहुँच तथा अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको स्पष्ट पारिन्।
यी विधेयकहरू स्वीकृत भएसँगै अब दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइनेछ। राष्ट्रियसभाको अर्को बैठक आगामी जेठ १५ गते अपराह्न ५ः४५ बजे बस्ने तय भएको छ।