दुग्ध विकास संस्थानका महत्त्वपूर्ण कागजात सिआइबीको नियन्त्रणमा
काठमाडौँ, १३ जेठ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले लैनचौरस्थित दुग्ध विकास संस्थान (डिडिसी) को केन्द्रीय कार्यालयबाट महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ । संस्थानभित्र हुनसक्ने सम्भावित आर्थिक अनियमितता वा अन्य गम्भीर विषयमा अनुसन्धानका लागि प्रहरीले यो कदम चालेको हो ।
सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले आवश्यक अनुसन्धानका सिलसिलामा टोलीले संस्थानबाट फाइल तथा कागजातहरू नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो । “हामी कहाँ आइपुगेको विषयमाथि गहन अनुसन्धान गर्नु सिआइबीको जिम्मेवारी हो, सोही क्रममा केही कागजातहरू लिइएको छ,” प्रवक्ता श्रेष्ठले भन्नुभयो, “अनुसन्धानको प्रारम्भिक चरणमै रहेकाले विस्तृत विवरण भने केही समयपछि मात्र खुल्नेछ ।”
डिडिसीले लामो समयदेखि दुग्ध उत्पादक किसानहरूको करोडौँ रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको छ । यद्यपि, संस्थानले पछिल्लो समय दैनिक एक करोड रुपैयाँका दरले किसानको बक्यौता भुक्तानी गर्न थालिएको दाबी गर्दै आएको छ ।
भुक्तानीमा भइरहेको ढिलाइ र संस्थानको आन्तरिक व्यवस्थापनमा देखिएका समस्याहरूका बीच प्रहरीले कागजात नियन्त्रणमा लिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सिआइबीले ती कागजातहरूको सुक्ष्म अध्ययन गरेपछि मात्र कारबाहीको प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ ।