विमानस्थलमै भयाे अनौठो तस्करी : कराहीभित्र ५५ लाख लुकाएर मलेसिया जान लागेका नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

काठमाडौँ, १९ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रासहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एक कर्मचारी पक्राउ परेका छन् । फलामको कराहीभित्र पैसा लुकाएर मलेसिया जान लागेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौँको वनस्थली बस्ने ५० वर्षीय कमल नारायण विश्वास रहेका छन् । उनी विगत १६ वर्षदेखि विमानस्थलमा ‘ग्राउण्ड इक्विपमेन्ट अपरेटर’ का रूपमा कार्यरत थिए ।

विश्वास सोमबार राति साढे ८ बजे बटिक एयरको उडानमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर जान लागेका थिए । विमानस्थल प्रहरीले उनको ब्यागेज स्क्रिनिङ गर्ने क्रममा शङ्कास्पद दृश्य देखिएपछि खानतलासी गर्दा कालो रङ्गको लगेजभित्र फलामको कराही फेला परेको थियो । सोही कराहीभित्र अत्यन्तै सावधानीपूर्वक लुकाइएको अवस्थामा विभिन्न देशका मुद्राहरू फेला परेको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिनुभयो ।

२६ पटक विदेश यात्रा, छैन वैधानिक स्रोत
प्रहरीका अनुसार उनको राहदानी (पासपोर्ट) जाँच गर्दा उक्त मुद्राको कुनै वैधानिक दरपिठ वा स्रोत खुलाइएको थिएन । अनुसन्धानका क्रममा विश्वासले हालसम्म २६ पटक विदेश यात्रा गरिसकेको देखिएकाले उनी पहिलेदेखि नै यस्तो गतिविधिमा संलग्न रहेको हुनसक्ने प्रहरीको आशङ्का छ ।

विमानस्थल प्रहरीले थप अनुसन्धान र कानुनी कारबाहीका लागि विश्वासलाई आजै ललितपुरको हरिहरभवनस्थित राजस्व अनुसन्धान विभागमा पठाएको छ । राष्ट्रिय ध्वजावाहक विमान सेवाकै कर्मचारी यस्तो गम्भीर मुद्रा अपचलनमा मुछिएपछि विमानस्थलको आन्तरिक सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ ।