कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दा संस्थागत गर्ने बाटो खुला
काठमाडौँ, ७ मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा अपेक्षित सहमति जुट्न नसकेपछि सम्मेलन निष्कर्षविहीन बनेको छ। टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु भएको सम्मेलन निर्धारित समयभन्दा दुई दिन ढिलो गरी नोभेम्बर २२ को राति सम्पन्न भएको हो।
यद्यपि, नेपालले पर्वतीय मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको छुट्टै एजेन्डाका रूपमा स्थापित गर्न गरेको पहलले आगामी दिनमा यसलाई संस्थागत मान्यता दिलाउने बाटो भने खोलेको छ।
सम्मेलनको अन्तिम चरणमा समग्र निर्णयमा सहमति जुट्न नसक्दा नेपालले प्रस्तुत गरेको पर्वतीय मुद्दासम्बन्धी प्रस्ताव पारित हुन सकेन। तर, विभिन्न देशबाट प्रस्तुत करिब सात प्रस्तावमध्ये नेपालको प्रस्ताव उच्च प्राथमिकताका साथ छलफलमा प्रवेश गर्नु महत्वपूर्ण उपलब्धि भएको कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकालले बताउनुभयो।
रासससँग कुरा गर्दै उहाँले भोटेकोशी विपद्को पीडालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै नेपालले पहिलोपटक पर्वतीय मुद्दालाई छुट्टै एजेन्डाका रूपमा अघि बढाउन लिखित प्रस्ताव पेस गरेको जानकारी दिनुभयो।
“सरकारले पर्वतीय मुद्दालाई छुट्टै एजेन्डाका रूपमा स्थापित गर्न लिखित प्रस्ताव पेस गरेको यो पहिलोपटक हो,” उहाँले भन्नुभयो, “कुनै पनि प्रस्ताव हुबहु स्वीकार भएनन्। तर नेपालको प्रस्तावलाई उच्च प्राथमिकताका साथ छलफलमा लैजान हामी सफल भयौँ।”
नेपालले सुरुमा ‘पर्वतीय क्षेत्रमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको प्रभाव’ विषयलाई छुट्टै एजेन्डाका रूपमा अघि सारेको थियो। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी) को सचिवालयको सहयोगमा प्रस्तावलाई परिमार्जन गरी ‘पर्वतीय पारिस्थितिक प्रणालीमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिसम्बन्धी विषयहरू’ नाम दिइएको थियो।
किर्गिस्तानले पनि पर्वतीय विषयमा संवाद आयोजना गर्ने प्रस्ताव गरेपछि नेपालले आफ्नो प्रस्तावमा किर्गिस्तानको चासोसमेत समेटिने भन्दै संयुक्त रूपमा अघि बढ्न आग्रह गरेको थियो। त्यसपछि नेपाल, भुटान र किर्गिस्तानले नेपालको प्रस्तावका आधारमा छलफल अघि बढाएका थिए।
नेपालले पर्वतीय मुद्दाअन्तर्गत अनुसन्धान, पूर्वसूचना प्रणाली, दुईवटा संवाद र उच्चस्तरीय राजनीतिक संवाद गरी चार विषय अघि बढाउन प्रस्ताव गरेको थियो। दुईवटा संवाद आयोजना गर्ने विषयमा प्रारम्भिक चरणमै सहमति बनेको थियो भने अनुसन्धान तथा पूर्वसूचना प्रणालीसम्बन्धी विषय पनि छलफलमा समेटिएका थिए।
प्रस्तावका केही अंश प्रारम्भिक चरणमै स्वीकार भएका थिए। पर्वतीय कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने तथा विभिन्न देशका प्रस्तावमा रहेका साझा विषयलाई विद्यमान एजेन्डासँग जोडेर समेट्ने प्रयास गरिएको डा ढकालले बताउनुभयो।
तर, सम्मेलनको अन्तिम चरणमा समग्र निर्णयमै सहमति जुट्न नसकेपछि नेपालको प्रस्ताव पनि पारित हुन सकेन। उहाँका अनुसार १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिलाई सीमित गर्ने तथा जीवाश्म इन्धनको उत्पादन, बिक्री वितरण र प्रयोगसँग सम्बन्धित विषयमा राष्ट्रहरूबीच मतभेद देखिएको थियो।
विशेषगरी जीवाश्म इन्धनबाट क्रमिक रूपमा बाहिरिने मार्ग र तापक्रम वृद्धिलाई सीमित गर्ने विषय निर्णयको मस्यौदामा समेटिन नसकेको भन्दै युरोपेली सङ्घले असहमति जनाएको थियो। त्यसका कारण सम्मेलनको समग्र निर्णय प्रक्रिया प्रभावित हुँदा नेपालको पर्वतीय मुद्दासम्बन्धी प्रस्ताव पनि अन्तिम समयमा पारित हुन नसकेको हो।
“नेपालको प्रस्ताव अस्वीकृत हुनुको कारण हाम्रो एजेन्डा होइन। सम्मेलनमा अन्य जटिल विषयमा सहमति हुन नसक्दा सबै निर्णय प्रभावित भएका हुन्,” डा ढकालले स्पष्ट पार्नुभयो।
नेपाल प्याभिलियनमा ४७ कार्यक्रम
कोप–३१ मा नेपालले दोस्रोपटक राष्ट्रिय प्याभिलियन स्थापना गरेको थियो। प्याभिलियनमा ४७ भन्दा बढी कार्यक्रम आयोजना गरिनुका साथै २५० भन्दा बढी वक्ताले सहभागिता जनाएका थिए।
आदिवासी जनजाति, निजी क्षेत्र, नागरिक समाजलगायत विभिन्न क्षेत्रको सहभागिता रहेको प्याभिलियनलाई डा ढकालले नेपालको सम्मेलन सहभागिताको सफल पक्षका रूपमा उल्लेख गर्नुभयो।
उहाँका अनुसार अल्पविकसित राष्ट्रहरूको समूहका प्याभिलियनमध्ये नेपालको प्याभिलियन सक्रिय र धेरै सहभागीले अवलोकन गरेकोमध्ये एक बनेको थियो। प्याभिलियनको गुणस्तरका विषयमा समेत प्रशंसा भएको उहाँले बताउनुभयो।
यसपटक वार्ताका लागि राजनीतिक तथा संस्थागत तहबाट राम्रो नेतृत्व र प्रतिनिधित्व भए पनि वार्ताकारको विषयगत ज्ञान, भाषिक क्षमता, तयारी र अन्तरव्यक्तिगत सीप थप अभिवृद्धि गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।
जलवायु परिवर्तनबाट नेपालले भोगिरहेका समस्यामात्र प्रस्तुत गर्नुभन्दा अन्य देशका समस्या र चासोलाई समेत बुझेर साझा हितका विषय पहिचान गर्न सक्ने क्षमता वार्ताकारमा हुनुपर्ने उहाँको भनाइ छ। पर्वतीय क्षेत्रका समस्या उठाउँदा समुद्री क्षेत्रका चुनौतीलाई समेत समेट्ने तथा विकसित र विकासशील देशबीच सन्तुलन कायम गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा प्रभावकारी संवाद गर्न सक्ने क्षमता विकास गर्नुपर्ने उहाँले बताउनुभयो।
“यसपटक गरेको मेहनतले पर्वतीय एजेन्डा स्थापित गर्ने बाटो बन्द भएको छैन भन्ने आत्मविश्वास दिएको छ। राम्रो तयारीका साथ अघि बढ्न सके आगामी दिनमा यसलाई अन्तर्राष्ट्रिय जलवायु वार्तामा स्थापित गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
सहमति नजुट्नु निराशाजनक
यसैबीच, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ मा अध्यक्षताद्वारा प्रस्तुत निर्णयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताउनुभएको छ।
सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका असर विश्वभर बढिरहेका बेला अन्तर्राष्ट्रिय जलवायु सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
जलवायु परिवर्तनका कारण विश्वका विभिन्न क्षेत्रमा प्रभाव गम्भीर बन्दै गएको, जीवाश्म इन्धनको लागतले अर्थतन्त्रमा मुद्रास्फीति बढाइरहेको तथा विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो।
उहाँले कोप प्रक्रिया सबै १९४ पक्ष राष्ट्रको साझा प्रक्रिया भएकाले सहमतिका लागि सबै पक्षका विचार पारदर्शी रूपमा सुन्ने र विगतका उपलब्धिलाई आधार बनाएर अघि बढ्नुपर्ने बताउनुभयो।
जलवायु वार्ताको प्रक्रियालाई सुधार, आधुनिकीकरण र पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विश्व प्रतिबद्धता जनाउने चरणबाट कार्यान्वयनको युगमा प्रवेश गरिसकेको बताउनुभयो। बदलिँदो परिस्थितिअनुसार अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रक्रियालाई पनि विकसित गर्नुपर्ने उहाँको भनाइ थियो।
औपचारिक वार्तामा अपेक्षित सहमति कायम हुन नसके पनि कोप–३१ अन्तर्गतको कार्यसूची (एक्सन एजेन्डा) मा महत्वपूर्ण प्रगति भएको उहाँले उल्लेख गर्नुभयो।
आगामी कोप–३२ लाई महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै स्टिलले दोस्रो विश्वव्यापी समीक्षा (ग्लोबल स्टकटक–२) ले पहिलो समीक्षाका उपलब्धिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
