काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति म्याचिङ लिष्टमा ३,७३५ विद्यार्थी सिफारिस

काठमाडौँ, २३ जेठ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूको पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) सार्वजनिक गरेको छ। छात्रवृत्ति छनोट परीक्षाको अन्तिम योग्यता क्रम, विद्यार्थीले रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकताका आधारमा जेठ २२ गतेको परीक्षा समितिको निर्णयअनुसार उक्त सूची प्रकाशन गरिएको हो ।

सार्वजनिक सूचीअनुसार कुल ३ हजार ७ सय ३५ जना विद्यार्थीलाई भर्नाका लागि सिफारिस गरिएको छ । यसमा विज्ञान विषयमा २ हजार २६६, व्यवस्थापनमा १ हजार ४०१, कानुनमा ५०, मानविकीमा १२ र शिक्षा संकायमा ६ जना विद्यार्थी रहेका छन् ।

भर्ना प्रक्रिया र समयसीमा
मनोनयनमा परेका परीक्षार्थीहरूले महानगरपालिकाको छात्रवृत्ति पोर्टलमा गएर आफ्नो रोल नम्बर, जन्म मिति र पासवर्ड प्रयोग गरी मनोनयन पत्र डाउनलोड गर्न सक्नेछन् । परीक्षार्थीले उक्त पत्र लिई आगामी जेठ २७ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्नेछ ।

परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार तोकिएको समयभित्र भर्ना नभएमा छात्रवृत्तिको दाबी स्वतः रद्द हुनेछ र मनोनयन भएको शिक्षण संस्था परिवर्तन गर्न पाइने छैन ।

कोटा र विद्यार्थी विवरण
महानगरपालिकाभित्रका १४५ वटा शिक्षण संस्थामा यो वर्षका लागि कुल ४ हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरिएको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार यस पटक सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गर्ने १ हजार ५४५ जना र संस्थागत विद्यालयबाट उत्तीर्ण ४८१ जना विद्यार्थी सिफारिसमा परेका छन् । यस्तै, महानगरका स्थायी बासिन्दा, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र सहिद परिवार लगायतका विभिन्न आरक्षण समूहका विद्यार्थीहरू पनि योग्यता क्रमका आधारमा छनोट भएका छन् ।

पुनर्योग र त्रुटि सच्याउने प्रक्रिया
जेठ १७ गते लिइएको छात्रवृत्ति परीक्षाको नतिजामा चित्त नबुझेका ३३१ जना विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । ओएमआर सिट परीक्षण गर्दा रोल नम्बर १६३९२ को उत्तरपुस्तिका दोव्रिएको कारण अङ्कमा परिवर्तन भएको र अन्य आवेदकको प्राप्ताङ्क यथावत रहेको समितिले जनाएको छ। यस्तै, विवरण सच्याउन निवेदन दिने ९६ जना विद्यार्थीको विवरणमा सुधार गरी अन्तिम योग्यता सूची तयार पारिएको थियो ।

दोस्रो सूची जेठ २८ पछि
पहिलो चरणको मनोनयनमा परेका विद्यार्थीहरू भर्ना नभएर रिक्त रहने सिटहरूमा बाँकी रहेका विद्यार्थीहरूको योग्यता क्रम र प्राथमिकताका आधारमा दोस्रो मनोनयन सूची प्रकाशन गरिनेछ। परीक्षा समितिका अनुसार दोस्रो सूची जेठ २८ गतेपछि सार्वजनिक गर्ने तयारी गरिएको छ ।