बाढीले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको साढे ३ करोडमा पुनःनिर्माण
काभ्रेपलाञ्चोक, २३ जेठ । वि.सं. २०८१ असोजको विनाशकारी बाढी र पहिरोका कारण क्षतविक्षत भएको धुलिखेल बृहत् खानेपानी आयोजनाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ। पनौती नगरपालिका–१२ स्थित सप्तकन्या मुहान क्षेत्र र मुख्य पाइपलाइनमा पुगेको गम्भीर क्षतिका कारण लामो समयदेखि प्रभावित बनेको यो आयोजना अहिले पूर्ण रूपमा सुचारु भएको हो।
धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गमका अनुसार, जर्मन सहयोग नियोग (जीआईजेड) र धुलिखेल खानेपानी आयोजनाको संयुक्त लगानीमा पुनःनिर्माण कार्य पुरा गरिएको हो। बाढीले मुहान क्षेत्र खारखोलामा १५० मिटर मुख्य पाइपलाइन बगाउनुका साथै इन्टेक र अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो।
उपभोक्ता समितिका अध्यक्ष कृष्णभूषण खोजुले आयोजना पुनःनिर्माणका लागि कुल ३ करोड ५१ लाख रुपैयाँ खर्च भएको जानकारी दिनुभयो। “गत वर्ष जेठ २० गतेदेखि पुनःनिर्माण थालिएको थियो,” उहाँले भन्नुभयो, “जर्मन सरकारबाट प्राप्त अनुदान र आयोजनाको आन्तरिक स्रोतबाट संरचनाहरूलाई पहिलेको भन्दा थप व्यवस्थित बनाइएको छ।” जर्मन सरकारले सन् १९९२ मा पनि यो आयोजनाको प्रारम्भिक निर्माणमा सहयोग गरेको थियो।
आयोजना क्षतिग्रस्त हुँदा धुलिखेल नगरपालिकाका ३, ४, ५, ६ र ८ नम्बर वडाका करिब ३ हजार ६०० परिवार प्रत्यक्ष प्रभावित भएका थिए। त्यतिबेला मुख्य पाइपलाइन नै बगेका कारण करिब तीन महिनासम्म खानेपानी आपूर्ति पूर्ण रूपमा ठप्प भएको थियो। नगरपालिकाले तत्कालै २० लाख रुपैयाँ खर्चेर अस्थायी व्यवस्थापन गरे पनि अहिले भएको स्थायी पुनःनिर्माणले दीर्घकालीन समाधान दिएको छ।
सप्तकन्या मुहान क्षेत्रको इन्टेक र पाइपलाइनलाई सुरक्षित बनाइएकाले अब वर्षायाममा पनि पानीको आपूर्ति नियमित हुने विश्वास उपभोक्ता समितिले लिएको छ। पुनःनिर्माण सम्पन्न भएसँगै धुलिखेलका हजारौँ नगरवासीले शुद्ध खानेपानीको सहज पहुँच पुनः प्राप्त गरेका छन्।