आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना : तराईमा गर्मी बढ्ने
काठमाडौँ, जेठ २५ । आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाद्वारा जारी बुलेटिन अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि बाँकी तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा र अन्य पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, उच्च हिमाली भेगका केही स्थानमा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
यसैबीच, तराईका क्षेत्रमा भने गर्मीको प्रकोप बढ्ने देखिएको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा आज तातो हावा चल्ने र ‘तातो दिन’ हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
रातिको समयमा कोशी प्रदेश र देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । तराईका बाँकी भागमा भने राति मौसम सफा रहनेछ ।