तीन पुस्ताको एउटै सपना : देशको सुरक्षा र ‘ब्यारेक’ जस्तै घर
काठमाडौँ, जेठ २५ । नेपालगन्ज उपमहानगरपालिका १५, जमुनाहस्थित एउटा घरको आँगनमा पुग्दा जोकोहीलाई भ्रम हुन सक्छ, यो कुनै निजी निवास हो कि सुरक्षा निकायको मुख्यालय? जब घरका सदस्यहरू एकै ठाउँमा भेला हुन्छन्, त्यहाँको दृश्य कुनै सैनिक वा प्रहरी ब्यारेकको भन्दा कम देखिँदैन ।
यो घर हो स्थानीय सुरेन्द्र सिंहको, जसको परिवारले विगत तीन पुस्तादेखि आफ्नो रगत र पसिना देशको सिमाना र शान्ति सुरक्षाका लागि अर्पण गर्दै आएको छ । शिख समुदायको यो सिंह परिवार अहिले सिङ्गो बाँके जिल्लाकै लागि ‘राष्ट्रसेवकहरूको परिवार’ का रूपमा चिनिन्छ ।
तीन पुस्ताको गौरवपूर्ण विरासत
सिंह परिवारमा सुरक्षा सेवामा लाग्ने कुरा केवल जागिर मात्र होइन, यो एउटा अटुट परम्परा र संस्कार बनेको छ । यो यात्रा सुरेन्द्रका बुबा जबर सिंहबाट सुरु भएको थियो । नेपाल प्रहरीमा रहेर उनले देखाएको निष्ठा र देशप्रेमले छोरा सुरेन्द्रलाई सशस्त्र प्रहरी बलतर्फ आकर्षित गर्यो । हालै सशस्त्र प्रहरीको प्रहरी नायब निरीक्षक पदबाट अवकाश पाएका सुरेन्द्रका लागि अझ खुसीको कुरा त के छ भने, उनका छोरा अङ्कित सिंहले पनि हजुरबुबा र बुबाकै बाटो रोज्दै नेपाल प्रहरीमा सेवा सुरु गरिसकेका छन् ।
“हाम्रो परिवारका करिब एक दर्जन सदस्य अहिले सुरक्षा निकायका विभिन्न पदमा हुनुहुन्छ,” सुरेन्द्र गर्वका साथ भन्नुहुन्छ, “घरमा सबै बर्दीधारीहरू देख्दा लाग्छ, हाम्रो घर नै एउटा सानो ब्यारेक हो। देशको सेवा गर्न पाउनु हाम्रो अहोभाग्य हो।”
शहादत र समर्पणको गाथा
सिंह परिवारको इतिहास केवल पद र पदकमा मात्र सीमित छैन; यसमा देशका लागि दिएको सर्वोच्च बलिदानको गाथा पनि जोडिएको छ । द्वन्द्वकालको त्यो कठिन समयमा प्रहरी निरीक्षक पदमा कार्यरत कन्हैया सिंहले कर्तव्य पालनाकै क्रममा वीरगति प्राप्त गर्नुभयो । परिवारको एउटा खम्बा ढल्दा सिङ्गो घर शोकमा डुब्यो, तर उहाँको बलिदानले बाँकी सदस्यहरूमा देशप्रतिको जिम्मेवारी अझ प्रगाढ बनायो ।
परिवारका अन्य सदस्यहरू पनि उत्तिकै सक्रिय छन् । काका शरण सिंहले नेपाल प्रहरीमा लामो समय बिताउनुभयो भने भाइ शङ्कर सिंह सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक पदबाट अवकाश हुनुभएको छ । हाल विनोद, दीपक, बलदेव र नारायण सिंह सशस्त्र प्रहरी बलमा कार्यरत रहँदै सीमा र नागरिकको रक्षामा खटिएका छन् ।
बर्दी फुकाले पनि मेटिँदैन देशप्रेम
अवकाश प्राप्त जीवन बिताइरहनुभएका सुरेन्द्र सिंहको मान्यता छ कि राष्ट्रसेवाका लागि सधैँ बर्दी नै लगाउनुपर्छ भन्ने छैन । “बर्दी फुकाल्दैमा देशप्रतिको जिम्मेवारी सकिँदैन,” उनी भन्छन्, “हिजो राज्यको नीतिनियममा रहेर सुरक्षा दिएँ, अब सामाजिक कार्यमार्फत समाजको सेवामा लागिरहनेछु । मुटुमा भएको देशप्रेम कहिल्यै अवकाश हुँदैन ।”
समुदायका लागि प्रेरणा
एउटै परिवारबाट यति धेरै सदस्यहरू राष्ट्रको सुरक्षामा होमिएको देख्दा छिमेकी र स्थानीय जनप्रतिनिधिहरू पनि नतमस्तक छन्। नेपालगन्ज–१५ का वडाध्यक्ष मदनविक्रम शाह भन्नुहुन्छ, “जमुनाहको यो सिंह परिवार त्याग र समर्पणको जीवित उदाहरण हो। एउटै आँगनबाट देशका लागि यति धेरै रक्षकहरू जन्मिँदा हामी सबैलाई गर्व लाग्छ ।”
व्यक्तिगत स्वार्थ र विदेशिने लहरका बीच, सिंह परिवारले देखाएको यो स्वदेश प्रेम र वीरताको मार्गले नयाँ पुस्तालाई राष्ट्रसेवाको मार्गमा लाग्न ठूलो ऊर्जा प्रदान गरेको छ ।