बेरुत आक्रमणले ‘लक्ष्मण रेखा’ नाघेको भन्दै इजरायलमाथि इरानको मिसाइल वर्षा; ट्रम्पद्वारा नेतान्याहुलाई जवाफी हमला नगर्न आग्रह

 

तेहरान/जेरुसेलम (एजेन्सी), २५ जेठ । इरानले इजरायलमाथि ठुलो संख्यामा मिसाइल प्रहार गरेको छ। लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको पछिल्लो सैन्य कारबाहीले ‘सबै लक्ष्मण रेखा’ नाघेको भन्दै तेहरानले इजरायली क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको हो।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले आइतबार राति इजरायलको ‘रमत डेभिड’ एयरबेसमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको पुष्टि गरेको छ। इरानी सञ्चारमाध्यमका अनुसार दक्षिण लेबनानको टायर र नबातिए क्षेत्रमा इजरायलले गरेको “व्यापक हत्या र विस्थापन” को जवाफमा यो आक्रमण गरिएको हो।

इजरायली सेनाले इरानबाट प्रहार गरिएका मिसाइलहरूलाई आफ्नो प्रतिरक्षा प्रणालीले सफलतापूर्वक निस्तेज (इन्टरसेप्ट) पारेको दाबी गरेको छ। आक्रमणको समयमा इजरायलभर खतराको साइरन बजाइएको थियो र नागरिकहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको थियो।

ट्रम्पको हस्तक्षेप: “इजरायलले बदला नलिनु”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर इरानमाथि जवाफी हमला नगर्न आग्रह गर्ने बताएका छन्। च्यानल १२ सँगको कुराकानीमा ट्रम्पले भने, “इरानी हमलाबाट कसैलाई चोट पुगेको छैन। आशा छ इजरायलले यसको बदला लिने छैन। यदि ‘बिबी’ (नेतान्याहु) ले पुनः आक्रमण गरेमा यो चक्र ४७ वर्ष वा ३,००० वर्षसम्म झैँ चलिरहनेछ।”

ट्रम्पले अमेरिका र इरानबीच ‘अन्तिम सम्झौता’ (Final Deal) हुन लागेको खुलासा गर्दै अहिलेको तनावले सो प्रक्रिया नबिग्रियोस् भन्ने चाहेको बताएका छन्। “म अहिले नै बिबीलाई फोन गरेर बदला नलिन भन्नेछु। दुवै पक्षले आ-आफ्नो शक्ति देखाइसके, अब अर्को आक्रमण आवश्यक छैन,” ट्रम्पले थपे।

चेतावनी र तनावको पृष्ठभूमि
इरानले यो अपरेसन एक ‘चेतावनी’ मात्र भएको र इजरायलले आफ्ना आक्रामकता नरोकेमा क्षेत्रका सबै अमेरिकी र इजरायली लक्ष्यहरूमा अझ भयानक प्रहार गर्ने चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसेन रेजाईले सामाजिक सञ्जाल एक्समा लेख्दै लेबनानमाथिको आक्रमण इरानका लागि सह्य नहुने स्पष्ट पारेका छन्।

वासिङ्टनमा केही दिनअघि मात्र इजरायल र लेबनानबीच युद्धविराम सम्झौता भए पनि इजरायलले बेरुतको दक्षिणी उपनगर ‘दहिह’ मा आक्रमण जारी राखेपछि यो स्थिति उत्पन्न भएको हो। आइतबार दिउँसो दहिहमा भएको इजरायली स्ट्राइकमा दुई जनाको मृत्यु र ११ जना घाइते भएका थिए। इजरायलले भने उक्त स्थान हिजबुल्लाहको कमान्ड सेन्टर भएको दाबी गरेको छ।

इरानका सभामुख मोहम्मद बगेर गालिबाफले युद्धविराम सम्झौताको उल्लंघन भएमा इरान प्रत्यक्ष मुठभेडमा उत्रने चेतावनी दिएका छन्। तथ्याङ्क अनुसार लेबनानमा गत मार्च २ देखि यता इजरायली आक्रमणमा ३,५०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

अहिले अन्तर्राष्ट्रिय समुदायको ध्यान इजरायलको सम्भावित प्रतिक्रिया र ट्रम्पको मध्यस्थतामा केन्द्रित भएको छ।