फुल्चोकी भ्रमण गर्दा विशेष सावधानी अपनाउन ललितपुर प्रहरी र स्थानीय तहको आग्रह
ललितपुर, २५ जेठ । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा मानिसहरू हराउने र सम्पर्कविहीन हुने घटना बढेपछि जिल्ला प्रहरी परिसर ललितपुरले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। घना जङ्गल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय र कलेजका विद्यार्थी एवं सर्वसाधारण पर्यटकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका सहायक प्रहरी उपरीक्षक (एएसपी) गौतम मिश्रका अनुसार पछिल्लो एक वर्षमा फुल्चोकी जङ्गल क्षेत्रमा मानिस हराएका छ वटा सूचना प्राप्त भएका थिए। हराएका ती सबै व्यक्तिको प्रहरी टोलीले सकुशल उद्धार गरेको भए पनि भौगोलिक विकटताका कारण सो क्षेत्रमा जोखिम कायमै रहेको उहाँले बताउनुभयो।
गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले सार्वजनिक बिदाका दिन फुल्चोकी घुम्न आउनेहरूको सङ्ख्या उल्लेख्य हुने गरेको जानकारी दिनुभयो। “बिदाको दिन घुम्न आउनेहरू फर्किने क्रममा जङ्गलको छोटो बाटो (शर्टकट) प्रयोग गर्न खोज्दा धेरैजसो बाटो बिराएर जङ्गलमा हराउने गरेका छन्,” उपप्रमुख अधिकारीले भन्नुभयो।
सुरक्षित यात्राका लागि प्रहरी र स्थानीय तहले निम्न सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्:
* फुल्चोकी भ्रमण गर्दा जहिले पनि समूहमा वा अनुभवी गाइडसँग मात्र यात्रा गर्ने।
* भ्रमणमा जानुअघि घरपरिवार वा साथीभाइलाई अनिवार्य रूपमा जानकारी गराउने।
* जङ्गलको अपरिचित वा नयाँ छोटो बाटो प्रयोग नगर्ने।
* यात्रा अवधिभरका लागि पर्याप्त खानेपानी, चार्ज भएको मोबाइल फोन र आवश्यक सुरक्षा सामग्री साथमा राख्ने।
i