करको दर चुहावटमा अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग
काठमाडौँ, २५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बजेट वक्तव्य सार्वजनिक हुनु अगावै करका दरहरू चुहावट भएको आरोप लगाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सो माग गर्नुभएको हो।
संसद्मा बोल्दै सांसद शाहीले बजेटमा करका दरहरू हेरफेर गर्ने क्रममा सूचना चुहावट भएको दाबी गर्नुभयो। “करका दरहरू हेरफेरबारे अर्थमन्त्री र उहाँले तोकेका सीमित व्यक्तिबाहेक मन्त्रालयका सचिवलाई समेत थाहा हुँदैन,” उहाँले भन्नुभयो, “तर बजेट भाषण हुनु अगावै सूचना चुहाएर जेठ १४ गते नै ७५३ वटा बिवाइडी विद्युतीय गाडीहरू भन्सार पास गराइन्छ र २० जेठमा गाडीहरू आइपुग्छन्।”
सरकार आफैँले छानबिन समिति बनाएर कर्मचारीलाई मात्र दोष पन्छाउन खोजेको भन्दै उहाँले आपत्ति जनाउनुभयो। करका दरहरू बजेट अगावै सार्वजनिक गर्नु राष्ट्रिय अर्थतन्त्रमाथिको ‘राजद्रोह’ भएको जिकिर गर्दै उहाँले यस विषयमा सरकारले नभई संसद्ले नै विशेष छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो।