सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा : स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचारको व्यवस्था

काठमाडौँ, जेठ ३० । हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ गाउँपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारण गरिएका लक्ष्यअनुसार गाउँपालिकाभित्रका ० देखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाबमोजिमका सबै खोप पाएको सुनिश्चित भएपछि यो घोषणा गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार सबै वडामा लक्षित उमेर समूहका बालबालिकाको विवरण सङ्कलन, सुक्ष्म अनुगमन र प्रमाणीकरण प्रक्रिया पूरा भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले जानकारी दिनुभयो । घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विजय भण्डारीले बालबालिकालाई सरुवा रोगबाट बचाउन खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको बताउनुभयो ।

सोही अवसरमा खोप अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने सञ्चारकर्मीहरूलाई कदरपत्र प्रदान गरिनुका साथै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो । आगामी दिनमा पनि यस अवस्थालाई दिगो बनाउन सबै पक्षको सहकार्य रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार
यसैबीच, सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालय हुम्लाबीच गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने ऐतिहासिक सहमति भएको छ ।

लामो समयदेखि मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, जनचेतना अभिवृद्धि र आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारमा स्वयंसेविकाहरूले पुर्‍याएको योगदानको कदर गर्दै यो सुविधा उपलब्ध गराउन लागिएको हो । सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष विजय भण्डारी र स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार जिल्ला अस्पतालले स्वयंसेविकालाई अस्पतालमा उपलब्ध सम्पूर्ण सेवाहरू निःशुल्क प्रदान गर्नेछ । यसका लागि सिमकोट गाउँपालिकाले सम्बन्धित स्वयंसेविकाहरूलाई परिचयपत्र उपलब्ध गराउने जिम्मेवारी लिएको छ । सेवा प्राप्त गर्नका लागि स्वयंसेविकाले अस्पतालमा अनिवार्य रूपमा परिचयपत्र पेस गर्नुपर्ने प्रावधान राखिएको छ ।