अमेरिकासँगको आणविक सम्झौतामा इरानको कडा अडान : ‘सर्त पूरा नभए हस्ताक्षर गर्दैनौँ’
एजेन्सी, ३० जेठ । इरानले संयुक्त राज्य अमेरिकासँगको आणविक वार्ताका सम्बन्धमा आफ्नो अडान पुनः स्पष्ट पारेको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले पूर्व निर्धारित सर्त र प्रावधानहरू पूर्ण रूपमा कार्यान्वयन नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने चेतावनी दिएका हुन्।
इरानी सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै मन्त्री अराघचीले अन्तरिम सम्झौता कार्यान्वयन नभएसम्म अमेरिकासँगको आणविक वार्ता अगाडि नबढ्ने बताए।
अराघचीका अनुसार प्रारम्भिक सम्झौतापछि अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न ६० दिनको समय दिइनेछ। “अमेरिकाले आफ्नो दायित्व पूरा गरेपछि मात्र स्थिति सहज हुनेछ,” उनले भने, “समझदारी तथा ज्ञापन-पत्रका सबै प्रावधान पूरा नभएसम्म इरानले अन्तिम सम्झौतामा हस्ताक्षर गर्ने छैन।”
मन्त्री अराघचीले कुनै पनि निर्णय इरानको ‘सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्’ ले सामूहिक रूपमा गर्ने र परिषद्बाट स्वीकृत भएमा मात्र हस्ताक्षर प्रक्रिया अघि बढ्ने स्पष्ट पारे। उनले अमेरिकी अधिकारीहरूले सम्झौताको पूर्ण पालना गर्न नसक्ने आरोप लगाउँदै इरानले कार्यान्वयनका क्रममा धेरै चुनौतीहरूको अपेक्षा गरेको बताए। “प्रतिबद्धताहरू तोड्नु अमेरिकी राजनीतिज्ञहरूको स्वभाव नै हो,” अराघचीले भने, “यदि सम्झौता कार्यान्वयनमा अवरोधहरू सिर्जना गरिएमा हामी अन्तिम सम्झौतामा हस्ताक्षर गर्दैनौँ।”
इरानले आफ्नो सुरक्षाका लागि संयुक्त राष्ट्र सङ्घ वा कुनै पनि अन्तर्राष्ट्रिय गठबन्धनमा भर नपर्ने घोषणा गरेको छ। विदेश मन्त्री अराघचीले आफ्नो सुरक्षाको ग्यारेन्टीका लागि भगवान, इरानी जनता र आफ्नै सशस्त्र सेनाको समन्वयमा अगाडि बढ्ने बताए।