चर्चित सेफ सन्तोष साह पक्राउ

काठमाडौँ, ३० जेठ । बीबीसी मास्टरसेफ प्रोफेसनल्सका उपविजेता एवं चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत काठमाडौँको अनुमतिमा साहलाई चेक अनादर (चेक बाउन्स) र ठगी कसुरमा गएराति उनको गृहजिल्ला महोत्तरीबाट पक्राउ गरिएको हो । उनलाई आजै काठमाडौँ ल्याइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सरतकुमार थापाक्षेत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार साहले काठमाडौँको गैरीधारास्थित एउटा रेष्टुराँ खरिद गर्ने क्रममा ठगी गरेको उजुरी परेको थियो । रेष्टुराँ खरिद गर्दा उनले दिएको चेक बैंकबाट भुक्तानी हुन नसकी ‘बाउन्स’ भएपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए ।
“गैरीधाराको एक रेष्टुराँ खरिद गर्दा चेक अनादर र ठगी गरेको देखिएपछि अदालतको अनुमति लिएर उनलाई पक्राउ गरिएको हो,” एसपी थापाक्षेत्रीले भने ।

साहले केही समयअघि मात्रै नेपालमा आफ्नो हस्पिटालिटी व्यवसाय विस्तार गर्ने घोषणा गरेका थिए । सोही क्रममा विभिन्न रेष्टुराँहरूसँग व्यावसायिक सम्झौता गर्ने क्रममा आर्थिक विवाद उत्पन्न भएको बुझिएको छ । पक्राउ परेका साहलाई अहिले काठमाडौँमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।