पाल्पामा पिकअप जिप दुर्घटना: सडकबाट ११० मिटर तल खस्यो, चालकसहित १० जना घाइते
पाल्पा, २५ साउन । पाल्पाको तिनाउ गाउँपालिकामा आज बिहान एउटा पिकअप जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । तिनाउ गाउँपालिका–४ स्थित चिउरी डाँडाको कच्ची सडक खण्डमा जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।
माझगढी गाउँपालिका–५ बंसीङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप बिहान करिब ७:०० बजे दुर्घटनामा परेको थियो । झुम्सा–सत्यवती–धसमिघा सडक खण्डमा गुडिरहेको जिप सडकबाट करिब ११० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो । दुर्घटनामा जिप चालक देवकुमार घर्तीसहित अन्य ९ जना यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने बाँकी ९ जनाको अवस्था मध्यम छ । सबै घाइतेहरूलाई थप उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । हालसम्म घाइतेहरूको विस्तृत विवरण (नाम, थर र ठेगाना) खुल्न सकेको छैन ।