बागलुङको दुर्गम फोर्सा गाउँमा पहिलोपटक सडक पहुँच : स्थानीयको सास्ती हट्दै
काठमाडौँ, असार ५ । बागलुङ जिल्लाको दुर्गम बस्ती मानिने बडिगाड गाउँपालिका ८, फोर्सा गाउँमा पहिलोपटक मोटरेबल सडक पुगेको छ । गण्डकी प्रदेश सरकार र बडिगाड गाउँपालिकाको संयुक्त साझेदारीमा सडक निर्माण सम्पन्न भएसँगै सो क्षेत्र राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो ।
पुरानोगाउँदेखि फोर्सा भेडिखोरसम्मको करिब ५ किलोमिटर सडक निर्माणका लागि कुल ३ करोड २५ लाख रुपैयाँ खर्च भएको छ । यस आयोजनामा प्रदेश सरकारको १ करोड ५० लाख र बडिगाड गाउँपालिकाको १ करोड ७५ लाख रुपैयाँ लगानी रहेको छ । भौगोलिक रूपमा कठिन र चट्टानी भूभाग रहेकाले गाउँपालिकाले आफ्नै डोजर समेत परिचालन गरी सडक निर्माण कार्यलाई पूर्णता दिएको थियो ।
सडकको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सडक पहुँचले ग्रामीण जीवनलाई विकासको मूलधारसँग जोडेको बताउनुभयो । उहाँका अनुसार, यसअघि सडक नहुँदा फोर्साका करिब २०० घरधुरीलाई मोटरबाटो भेट्न कम्तीमा तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो । “गाउँपालिकाकै दुर्गम मानिएको यो वडामा सडक पुगेपछि स्थानीयको जनजीवन सहज भएको छ,” अध्यक्ष अधिकारीले भन्नुभयो, “अब यस सडकलाई थप व्यवस्थित र बाह्रै महिना सञ्चालनयोग्य बनाउने हाम्रो प्राथमिकता रहनेछ ।”
यसैगरी, गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले भीमगिठे टुनीबोट पुरानोगाउँ फोर्सा भेडीखोर खोलाखर्क हुँदै रमुवासम्मको सडकलाई ‘प्रदेश गौरवको आयोजना’ मा समावेश गरिएको जानकारी दिनुभयो । यस सडकलाई चक्रपथ (रिङरोड) को रूपमा विकास गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा थप १ करोड रुपैयाँ बराबरको काम हुने उहाँले बताउनुभयो ।
सडक निर्माण भएसँगै दुर्गम गाउँका बासिन्दाले कृषि उपजको बजारीकरण र औषधि उपचारका लागि सहज हुने भन्दै खुसी व्यक्त गरेका छन् । भीमगिठेबाट सुरु भएको सडक स्तरोन्नतिको काम वडा नम्बर ७ हुँदै ८ नम्बर वडासम्म निरन्तर अगाडि बढाइने गाउँपालिकाले जनाएको छ ।