इजरायलमा हुने १०औँ म्युनिसिपल कन्फरेन्समा भाग लिन महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा रहेको टोली तेल अभीभ प्रस्थान
काठमाडौँ, असार ८ । इजरायलको तेल अभीभमा आयोजना हुने ‘म्युनिसिपल कन्फरेन्स’को दशौँ संस्करणमा सहभागी हुन काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा रहेको टोली शनिबार राति इजरायलतर्फ प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलमा महानगरका प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा सहभागी हुनुहुन्छ । इजरायल सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा जानुभएको यो टोलीसँगै पोखरा महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख एवं प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी हुन जानुभएको छ ।
‘सफल साझेदारी’ (वीनिङ पार्टनरसिप) मूल नाराका साथ आयोजना हुने यो सम्मेलन असार ९, १० र ११ गते (जुन २३, २४ र २५ तारिख) सम्म सञ्चालन हुनेछ । सम्मेलनमा विश्वका १५० भन्दा बढी सहरका प्रमुखहरू, नगरपालिकाका नेतृत्वकर्ता, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरूको सहभागिता रहनेछ ।
सम्मेलनको मुख्य उद्देश्य सहरी व्यवस्थापनका उन्नत तथा नवीन प्रविधि, स्थानीय शासनका असल अभ्यास र सफल मोडलहरूको विषयमा आपसी ज्ञान र अनुभव आदानप्रदान गर्नु रहेको छ । नेपाली प्रतिनिधिमण्डलले सम्मेलनसँगै आयोजना हुने प्रदर्शनी (एक्पो) तथा व्यावसायिक सञ्जाल निर्माणका सत्रहरूमा समेत भाग लिने कार्यक्रम छ ।
इजरायलको स्थानीय सरकार महासंघको यो प्रमुख वार्षिक कार्यक्रममा दिगो सहरी विकास, ‘स्मार्ट सिटी’, सार्वजनिक सेवा र नवीन आयोजनाहरूका विषयमा बृहत् छलफल हुनेछ । विशेष गरी सहरी समस्या समाधानका लागि अत्याधुनिक प्रविधिको प्रयोग र फरक परिवेशका सहरी नेतृत्वबीच विचार मन्थन गरिने महानगरले जनाएको छ ।
सम्मेलनमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल आगामी शुक्रबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।