मेस्सीको ऐतिहासिक कीर्तिमानसँगै अर्जेन्टिना नकआउट चरणमा
काठमाडौं । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह ‘जे’ अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम ३२ मा प्रवेश गरेको हो।
अर्जेन्टिनाको जितमा दुवै गोल मेस्सीले गरे। खेलको ३८औँ मिनेटमा उनले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि इन्जुरी समयको पाँचौँ मिनेटमा अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।
खेलको सुरुवातमै पेनाल्टी अवसर गुमाएका मेस्सीले त्यसको भरपाई शानदार प्रदर्शनमार्फत गरे। उनको पहिलो गोल विश्वकप इतिहासकै विशेष गोल बन्न पुग्यो। उक्त गोलसँगै मेस्सी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। विश्वकपमा उनको कुल गोल संख्या १८ पुगेको छ। यसअघि जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजे १६ गोलसहित शीर्ष स्थानमा थिए।
अल्जेरियाविरुद्धको पहिलो खेलमा ह्याट्रिक गरेका मेस्सी जारी विश्वकपको गोल्डेन बुट दौडमा पनि अग्रस्थानमा पुगेका छन्। साथै, साविक विजेता अर्जेन्टिनाले समूह चरण पार गर्दै नकआउट चरणको यात्रा तय गरेको छ।
अस्ट्रियाले खेलभर संघर्षपूर्ण प्रदर्शन गरे पनि अर्जेन्टिनाको बलियो रक्षापंक्ति र मेस्सीको प्रभावशाली खेललाई रोक्न सकेन। मार्सेल साबिट्जरको फ्रिकिक अस्ट्रियाको सबैभन्दा राम्रो अवसर बनेको थियो।
यस खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत मेस्सी ‘प्लेयर अफ द म्याच’ घोषित भए। साथै, उनले लगातार छ विश्वकप खेलमा गोल गर्ने दुर्लभ कीर्तिमान पनि कायम गरेका छन्। यसअघि यस्तो उपलब्धि फ्रान्सका जस्ट फोन्तेन र ब्राजिलका जाइर्जिन्होले मात्र हासिल गरेका थिए।