काठमाडौँमा प्रथम उपमेयर कप खोखो प्रतियोगिता हुने : ५० हजार राशिको पुरस्कार
काठमाडौँ, असार ८ । काठमाडौँ महानगरपालिकाको सहयोगमा आगामी असार १० गतेदेखि विद्यालय स्तरीय ‘प्रथम उपमेयर कप खोखो प्रतियोगिता’ आयोजना हुने भएको छ । नेपाल खो खो संघको आयोजनामा हुन लागेको यस प्रतियोगिता सम्बन्धी जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो ।
काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार, महानगरले शिक्षा र खेलकुदलाई समान प्राथमिकताका साथ अघि बढाउने नीति अनुरूप यस खेलमा लगानी गरेको हो । कूल ३६ लाख रुपैयाँ लागत अनुमान गरिएको यस प्रतियोगिताका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने बाँकी ६ लाख रुपैयाँ संघले व्यहोर्नेछ ।
प्रतियोगितामा काठमाडौँ महानगरभित्रका १० वटा सामुदायिक विद्यालयका कक्षा १० सम्मका छात्रछात्राले प्रतिस्पर्धा गर्नेछन् । संघका अध्यक्ष दीपक महर्जनका अनुसार महिलातर्फ १० र पुरुषतर्फ ८ वटा समूह गरी कूल १८ टोलीका २१६ खेलाडी तथा ३६ प्रशिक्षक र व्यवस्थापकको प्रत्यक्ष सहभागिता रहनेछ। प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन गरिनेछ भने खेल सञ्चालनका लागि ३० सदस्यीय निर्णायक मण्डल खटाइनेछ ।
पुरस्कार राशिका हिसाबले यो प्रतियोगिता खोखो खेलको इतिहासमै अहिलेसम्मको ठूलो रहेको संघले जनाएको छ। महिला र पुरुष दुवै समूहका विजेता टोलीले ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विधागततर्फ ‘बेस्ट रनर’ र ‘बेस्ट चेजर’ लाई समेत जनही १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
संघका महासचिव शंकर महर्जनले अन्तर्राष्ट्रिय स्तरमा नेपालले खोखो खेलमा दक्षिण एसियाली खेलकुद र एशियन च्याम्पियनसिपमा समेत पदक जित्दै राम्रो छवि बनाएको उल्लेख गर्नुभयो। उहाँले यस प्रतियोगिताले ग्रासरुट तहबाटै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगिता अवधिभरका लागि १ लाख रुपैयाँसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । कीर्तिपुरस्थित खोखो हलमा असार १० देखि १३ गतेसम्म चल्ने यस प्रतियोगिताको लोगोमा काठमाडौँको ऐतिहासिक नौतले दरबार अगाडि खोखो खेलिरहेको दृश्य समावेश गरिएको छ ।