ट्युनिसियामाथि जापानको ४–० को शानदार जित
काठमाडौँ, ७ असार । फिफा विश्वकप फुटबल प्रतियोगिताको इतिहासकै १०००औँ ऐतिहासिक खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकी मुलुक ट्युनिसियामाथि ४–० को सहज जित दर्ता गरेको छ । मेक्सिकोको मोन्टेरे रङ्गशालामा भएको समूह ‘एफ’ को रोमान्चक खेलमा जित निकाल्दै जापानले नकआउट चरणमा प्रवेश गर्ने आफ्नो सम्भावनालाई बलियो बनाएको हो।
जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले समान एक-एक गोल गरे। खेलको चौथो मिनेटमै कामाडाले केइतो नाकामुराको उत्कृष्ट पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो। त्यसपछि ३१औँ मिनेटमा को इताकुराको पासमा उएदाले गोल गर्दै जापानको अग्रता दोब्बर बनाउनुभयो।
दोस्रो हाफमा पनि आक्रामक खेल जारी राखेको जापानका लागि ६९औँ मिनेटमा जुन्या इटोले तेस्रो गोल गर्नुभयो। खेलको ८३औँ मिनेटमा उएदाले काइसु सानोको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै जापानको ४–० को जित सुनिश्चित गर्नुभयो। उएदा यस विश्वकपमा एकै खेलमा दुई गोल र एक असिस्ट गर्ने नेदरल्याण्ड्सका कोडी गाक्पोपछिका दोस्रो खेलाडीसमेत बन्नुभएको छ।
यस जितसँगै समूह ‘एफ’ मा जापानले दुई खेलबाट ४ अङ्क बटुल्दै नेदरल्याण्ड्ससँग समान अङ्कका साथ नकआउट यात्रा नजिक पुर्याएको छ। यसअघि जापानले पहिलो खेलमा नेदरल्याण्ड्ससँग २–२ को बराबरी खेलेको थियो।
अर्कातर्फ, लगातार दोस्रो हार ब्यहोरेको ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ। पहिलो खेलमा स्विडेनसँग ५–१ ले पराजित भएपछि ट्युनिसियाले मुख्य प्रशिक्षक साब्री लामोउचीलाई बर्खास्त गर्दै हार्भे रेनार्डलाई नयाँ प्रशिक्षक नियुक्त गरे पनि नतिजामा सुधार आउन सकेन। ट्युनिसिया यस विश्वकपका दुई खेलमा ९ गोल ब्यहोर्ने पहिलो टोलीसमेत बनेको छ।
अब समूह ‘एफ’ को अन्तिम चरणको खेलमा जापानले स्विडेनसँग खेल्नेछ भने प्रतियोगिताबाट बाहिरिइसकेको ट्युनिसियाले नेदरल्याण्ड्सको सामना गर्नेछ।