सुनचाँदीको मूल्यमा पुनः वृद्धि: सुन तोलामा १ हजार ४०० र चाँदी ४० रुपैयाँले बढ्यो
काठमाडौँ, ८ असार । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको हो।
महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ७३० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारको सामान्य उतारचढावका कारण स्थानीय बजारको मूल्य प्रभावित भएको व्यवसायीहरूको भनाइ छ।