दामोदरकुण्ड पदमार्गमा सञ्चार सुविधा नहुँदा तीर्थयात्री मारमा

मुस्ताङ, ८ असार । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल दामोदरकुण्ड जाने पदमार्गमा सञ्चार (टेलिफोन) नेटवर्कको पहुँच नहुँदा तीर्थयात्रीहरूले ठूलो सास्ती ब्यहोर्नुपरेको छ। यारा गाउँभन्दा माथिको घिमे ठाँटीदेखि दामोदरकुण्डसम्मको पदमार्गमा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध रहेकाले यात्रीहरूलाई आवश्यक कूटनीतिक तथा सुरक्षा समन्वय गर्न असहज भएको हो।

नेपाल यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा पोखराका पर्यटन एवं यातायात व्यवसायीहरूको टोलीले दामोदरकुण्डको पदयात्रा सम्पन्न गरी जोमसोममा अन्तरक्रिया आयोजना गरेको थियो। सङ्घका अध्यक्ष रविप्रसाद आचार्यले समुद्री सतहदेखि करिब पाँच हजार मिटरको उचाइमा रहेको दामोदरकुण्डमा लेक लाग्ने (अल्टिच्युट सिकनेस) उच्च जोखिम हुने भएकाले यस पदमार्गमा तत्काल सञ्चार सुविधा पुर्‍याउनुपर्ने माग गर्नुभयो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलले घिमे डाँडामा नेपाल टेलिकमको बिटिएस  टावर स्थापना गर्न सके यात्रीहरूलाई उद्धार र सहयोग गर्न सहज हुने सुझाव दिनुभयो।

यारा गाउँबाट दामोदरकुण्डसम्मको पदयात्रा १६ दशमलव ५ किलोमिटर छ। अत्यधिक चिसोका कारण वर्षमा जेठदेखि साउनसम्मका तीन महिना मात्रै यो पदयात्राका लागि अनुकूल मानिन्छ। गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार यारा गाउँबाट घोडा चढेर दामोदरकुण्ड पुग्न ७ घण्टाभन्दा बढी समय लाग्छ। पदमार्गको विभिन्न स्थानमा आश्रयस्थल (धर्मशाला) र दिशा देखाउने ‘साइन बोर्ड’ नहुँदा यात्रा थप चुनौतीपूर्ण बनेको व्यवसायीहरूको भनाइ छ।